
गढवा,२९ मंसिर। दाङ देउखुरीको गढवा गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। नेकपाको पार्टी कार्यालयको उद्घाटन संसदीय दलका सचेतक इन्द्रजित थारुले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै सचेतक थारुले वामपन्थी शक्तिहरूको एकताले मात्रै जनताको पक्षमा बलियो राजनीति सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “देश र जनताको आवश्यकता वाम एकता हो। वैचारिक समानताका आधारमा बनेको संयुक्त नेकपाले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म जनताको आवाज मजबुत रूपमा उठाउनेछ।”
उद्घाटन समारोहका अवसरमा पार्टीको जिम्मेवारी बाँडफाँड तथा कार्यदल गठनसमेत गरिएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी सम्मिलित संयुक्त नेकपा गठन गरिएको छ।
नयाँ गठित कार्यदलमा माओवादी केन्द्रतर्फबाट यमनारायण शर्मा पोख्रेल, तिलक घिमिरे र देवराज यादव तथा एकीकृत समाजवादीतर्फबाट गोविन्द रोका मगर, कालीराम चौधरी र पुरन चौधरी सदस्य रहनुभएको छ।
कार्यक्रममा सचेतक थारुले नेकपा १२ घटक मिलेर बनेको पार्टी भएको उल्लेख गर्दै गढवा गाउँपालिकामा हालसम्म एकीकृत समाजवादी र माओवादी केन्द्र मात्रै सम्पर्कमा आएको जानकारी दिनुभयो। उहाँले बाँकी घटकहरूलाई पनि एकतामा आवद्ध हुन आह्वान गर्नुभयो।
स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा पार्टी कार्यालय सञ्चालनले गढवामा वाम राजनीतिक गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ।




