गढवामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न, खेलकुदसहित विविध कार्यक्रम

आलोक भावुक

गढवा, २४ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिकामा ‘प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसाको अन्त्य गरौँ’भन्ने नाराका साथ विविध कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ।

गढवा गाउँपालिका कार्यवाहक अध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै कार्यवाहक पालिका अध्यक्ष चौधरीले लैङ्गिक हिंसाको रोकथामका लागि हरेक व्यक्तिले जिम्मेवारी लिनुपर्ने र जबसम्म हर व्यक्तिले जिम्मेवारीबाट टाढा रहन्छ लैङ्गिक हिंसाको अन्त्य हुन नसक्ने बताउनुभयो। पछिल्लो समयमा प्रविधिको दुरुपयोग भएका कारण लैङ्गिक हिंसाका घटनाहरू दिनानुदिन बढ्दै जानु चिन्ताको विषय रहेको स्पष्ट पार्नुभयो। पछिल्लो समयमा बढ्दो प्रविधिको विकाससँगै हात हातमा मोबाइल फोनले केहीको जीवन बनाएको छ भने केहीको बिगारेको छ। त्यसकारणले प्रविधिको सही सदुपयोग गरौं जीवन बचाउने तर्फ नागरिकहरु सचेत हुनुपर्ने समय आएको बताउनुभयो। पछिल्लो समय सामाजिक सञ्जालबाट हुने अपराधका घटनाहरूलाई निराकरण गर्नका लागि एकदमै होसियारी अपनाउनुपर्ने बताउँदै सावधानी नअपनाए लैङ्गिक हिंसा लगायत अन्य थुप्रै समस्याहरुबाट सामना गर्नुपर्ने बताउनुभयो

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भक्त चौधरीले लैङ्गिक हिंसा अन्त्यका लागि महिला पुरुषलाई त्यससँग सम्बन्धित ज्ञान दिन आवश्यक रहेको बताउनुभयो। ज्ञान बिनाको अभावमा लैङ्गिक हिंसाका घटनाहरु बढ्ने भएकाले पालिकाले विभिन्न वडाहरूमा लैङ्गिक हिंसाका घटनाहरूको बारेमा जानकारीमूलक सन्देश प्रवाह गर्दै यसको न्यूनिकरणका लागि ३६५ दिनै अभियानको रुपमा चलाउनुपर्ने बताउनुभयो । गाउँ समाजको बाटोघाटो बन्नु मात्रै विकास नभएको भन्दै वडा अध्यक्ष चौधरीले समाजमा सकारात्मक सन्देशको प्रवाह गर्न आवश्यक रहेको जिकिर गर्नुभयो।।

पछिल्लो समयमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले समाजमा चिन्ता बढाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले होसियारीपूर्वक सामाजिक सञ्जालको प्रयोग गर्न सुझाव समेत दिनुभयो।

अभियानको समापन भएको अवसरमा महिलाहरूबीच कुर्सी दौड र तातोआलु खेल प्रतियोगिता मएको थियो।

कुर्सी दौड प्रतियोगितामा मन्जु यादव प्रथम, अनिता चौधरी द्वितीय, रामकली थारु कुमाल, तृतीय कुन्ती यादव चौथो सुलोचना चौधरी पाँचौ स्थान हासिल गर्नुभएको थियो।

त्यसैगरी तातो आलु खेलमा प्रहरी सहायक चाँदनी यादव प्रथम, विन्टु चौधरी द्वितीय, सीमा जी.सी. तृतीय, सिर्जना चौधरी चौथो रबिता यादव पाँचौं स्थान हांसिल गर्नुभएको थियो।

दुवै खेलमा सहभागी विजेताहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो।

कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य राधेश्याम थारु कुमाल, प्रमिला नेपाल, नागरिक समाज गढवाका खगेश्वर शर्मा, ब्राह्माकुमारी ईश्वरीयविश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाकी ब्रह्माकुमारी यशोदा भट्टराई, लगायतकाले लैंगिक हिंसाविरुद्धको अभियानमा सबैको साथ सहयोगको आवश्यकता औल्याउदै घरघरबाट लैंगिक हिंसाविरुद्धको अभियानलाई सार्थक बनाउन लाग्नु पर्ने बिचार राख्नु भएको थियो।

कार्यक्रममा विभिन्न वडाको जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, प्रहरी, पत्रकार, विभिन्न महिला समूह लगायतको सहभागिता रहेको थियो।

समापन कार्यक्रम गढवा गाउँपालिकाको आयोजना तथा क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको थियो।

कार्यपालिका सदस्य चन्द्रा के.सी.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID