
गढवा,१९ मंसिर। गढवा गाउँपालिका स्तरीय निजि विद्यालय समितिको आयोजनामा शुक्रबार देखि गढवामा विभिन्न खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ।
समितिको अध्यक्ष तथा शुभ तारा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिकाश रजौरेको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्यमा खेलकुद प्रतियोगिता सुरु भएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष वीरबहादुर आले मगरले खेलकुदले विद्यार्थीलाई अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गराउने बताउनु भयो।
“खेलकुद केवल मनोरञ्जन होइन, देशलाई चिनाउने माध्यम पनि हो। खेलाडीको उपलब्धिका कारण देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर हुन्छ। त्यसैले विद्यार्थी उमेरदेखि नै खेलप्रति आकर्षण बढाउनुपर्छ। खेल स्वास्थ्यका लागि अत्यावश्यक छ, शरीरलाई सक्रिय राख्छ र मानसिक रूपमा समेत दह्रो बनाउँछ। हामी सबैले मर्यादित भई स्वस्थ प्रतिस्पर्धासहित खेल्नुपर्छ।” वडाध्यक्ष आले मगरले बताउनुभयो। गढवा गाउँपालिकाबाट विद्यालय स्तरीय खेलकुद कार्यक्रमलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउँदै यसप्रकारका कार्यक्रमले भावी खेलाडी जन्माउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै गढवामा निजि विद्यालय समितिका अध्यक्ष विकास रजौरेले खेलकुदलाई विद्यार्थीको समग्र विकासको आधार भन्दै यो अभियान निरन्तर अघि बढाइने बताउनुभयो।
“विद्यालयमा मात्र सीमित नभई खेलकुदलाई पालिका–स्तरमै विस्तार गर्दा विद्यार्थीको उत्साह, क्षमता र प्रतिस्पर्धा दुवै बढ्छ। खेलले विद्यार्थीमा आत्मअनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोच विकास गराउँछ। निजी विद्यालय समितिले हरेक वर्ष क्रमिक रूपमा अझ व्यवस्थित र व्यापक कार्यक्रम ल्याउने लक्ष्य राखेको छ।”समेत बताउनुभयो।
विक्रम सम्वत २०७६ सालमा स्थापना भएको गढवा गाउँपालिका स्तरीय निजि विद्यालय समितिको आयोजनामा यो दोस्रो पटक पालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु गर्न लागेको छ।
दोस्रो खेलकुद प्रतियोगिता मंसिर १९ गतेदेखी २१ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा माध्यमिक तह अन्तर्गत छात्र/छात्राहरुबिचको भलिबल खेल,आधारभूत तह अन्तर्गत फुटवल छात्रहरुको , खो:खो छात्रा,२०० मिटर दौड छात्र/छात्रा बिच त्यसैगरी प्राथामिक विद्यालय तहमा १०० मिटर दौड , चम्चा दौड र हिसाव दौड छात्र/छात्राहरुको बिचमा हुने खेलकुद संयोजक निर्मल रावतले जानकारी दिनुभयो।
भ्याली पब्लिक स्कूल गढवाकी प्रिन्सिपल प्रतिमा केकेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बाल संसार एकाडेमीका माधव शर्मा पण्डितले गर्नु भएको थियो।




