
गढवा,१३ मंसिर। गढवा गाउँपालिका वडा नम्बर ६ मा टोल विकास संस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम आज स्थानीय तहको सक्रिय सहभागितासहित सम्पन्न भएको छ।
वडास्तरीय विकास योजना, समस्याहरूको पहिचान तथा आगामी कार्यदिशा तय गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम वडा अध्यक्ष वीरबहादुर आले मगरको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा वडा सदस्य दिनमनि आचार्य, गोविन्द रोका मगर तथा गढवा गाउँपालिकाको योजना शाखाका प्रमुख इन्जिनियर विनय कुमार यादवको विशेष उपस्थिति रहेको थियो। उहांहरूले समुदायमा सञ्चालित टोल विकास संस्थाहरूको भूमिका, वर्तमान चुनौती र विकास योजनामा समन्वयका विषयमा सुझाव तथा अभिमत प्रस्तुत गर्नु भएको थियो।
अन्तरक्रिया कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू, सचिवहरू तथा स्थानीय सरोकारवाला सक्रिय रूपमा सहभागी भएका थिए। सहभागिता प्रभावपूर्ण र विषयकाे सम्बन्धितताले कार्यक्रममा ऊर्जाशील वातावरण बनेको थियो।
कार्यक्रमको सहजीकरण वडा सचिव विष्णु बिसीले गर्नुभएको थियो। उहाँले टोल विकास समितिहरूको कार्यदायित्व, योजना प्रक्रियामा भूमिका र अभिलेख व्यवस्थापनका बारेमा स्पष्ट पार्दै समन्वय र पारदर्शिताले मात्र विकासलाई गति दिने उल्लेख गर्नुभयो।




