
दाङ,५ मंसिर । पाल्पाको रानीमहल घुम्नका लागि विद्यार्थी बोकेर गएको बस शुक्रबार विहान दुर्घटनामा पर्दा ११ जना सामान्य रूपमा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनामा परेको बस दाङको राजपुरस्थित साधारण नमुना माध्यमिक विद्यालयका विद्यार्थी लिएर भ्रमणमा आएको थियो।
ना ५ ख १०८९ नम्बरको बस शुक्रबार विहान करिब ६ बजे तानसेन नगरपालिका–१३ बैकण्ठे भिर नजिक दुर्घटनामा परेको हो। रानीमहल जाने क्रममा बस अचानक अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा दाङ राजपुर–४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही–११ का २२ वर्षीय दामोदर रेउले, बस चालक घोराही–१४ का 35 वर्षीय सन्तोष ढकाल, राजपुर–५ की १२ वर्षीया सन्ध्या भण्डारी, राजपुर–६ की १८ वर्षीया दिल कुमारी रावत, राजपुर–६ की १० वर्षीया सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली, राजपुर–५ की २३ वर्षीया सृजना यादव, १३ वर्षीय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही–९ का ३५ वर्षीय बसन्त योगी रहेका छन्। सबै घाइतेहरू सामान्य अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।
अस्थायी प्रहरी पोष्ट रानीमहलबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी तत्काल उपचारका लागि मिसन अस्पताल पठाइएको जनाइएको छ। पुलिसका अनुसार थप अनुसन्धान भइरहेको छ।




