गढ़वा- ५ धर्मपुरमा भूमि तथा आवास साक्षरता अभिमुखीकरण सम्पन्न

आलोक भावुक

गढवा, ३ मंसिर। ग्रामीण महिला उत्थान केन्द्र र निवास संस्थाको संयुक्त आयोजनामा गढ़वा गाउँपालिका–५ धर्मपुरमा एक दिने भूमि तथा आवास सम्बन्धी साक्षरता अभिमुखीकरण कार्यक्रम आज बुधबार सम्पन्न भएको छ।

कार्यक्रमले स्थानीयवासीलाई भूमि अधिकार, आवास व्यवस्था तथा कानुनी प्रक्रियाबारे व्यवहारिक जानकारी प्रदान गरेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रम ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा गढ़वा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा पालिका अध्यक्ष पोख्रेलले स्थानीय स्तरमा जग्गा–जमिन तथा आवाससम्बन्धी सचेतनाको आवश्यकता अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो। कार्यक्रम मा बोल्दै अध्यक्ष पोख्रेलले भन्नु भयो- “भूमि तथा आवास मानवको आधारभूत अधिकार हो। तर अधिकार प्रयोग गर्न आवश्यक कानुनी प्रक्रिया, नक्सा–नापी, दर्ता–सुधारदेखि लिएर सुरक्षित आवास निर्माणसम्मका विषयमा धेरै नागरिक अझै पूर्ण रूपमा जानकार छैनन्। यस्तो साक्षरता कार्यक्रमले नागरिकलाई अधिकार सचेत र कानुनी रूपमा सक्षम बनाउने काम गर्छ, त्यसैले गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग र प्रोत्साहन गर्दै जानेछ।”

साथै सबै नागरिकको आवास सुरक्षित, व्यवस्थित र कानुनी रूपमा अभिलेखित हुने लक्ष्यसहित गाउँपालिकाले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमको जानकारी समेत दिनु भएको थियो।

कार्यक्रममा प्रशिक्षक नेप बहादुर चौधरी, निर्मल चौधरी, भीमकान्त चौधरी र मीना गिरीले भूमि अधिकार, कानुनी अभिलेखीकरण, आवास अनुदान, समग्र भूमि व्यवस्थापन तथा व्यवहारिक केस–स्टडीका आधारमा सहभागीलाई विस्तृत प्रशिक्षण प्रदान गर्नु भएको थियो।

कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, ५ नं. वडाध्यक्ष लेख बहादुर थापा, महिला समूहका सदस्य, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम समुदायमा भूमि तथा आवाससम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण कदम भएको आयोजक संस्थाले जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID