गढवा र राजपुरका जनप्रतिनिधि सहभागी परामर्श गोष्ठी सम्पन्न

हेफर इन्टरनेसनल नेपालद्वारा आगामी कार्यक्रमका प्राथमिकतामाथि बृहद् छलफल

आलोक भावुक

गढवा, २४ कात्तिक। हेफर इन्टरनेसनल नेपालले गढवा र राजपुर गाउँपालिकामा सञ्चालन भइरहेको कृषि तथा पशु विकास कार्यक्रमका आगामी योजनाबारे बृहद् परामर्श गोष्ठी सम्पन्न गरेको छ।

राजपुर गाउँपालिका सभाहलमा सोमबार सम्पन्न सो गोष्ठीमा दुवै गाउँपालिकाका जनप्रतिनिधि, ग्रामीण महिला उत्थान केन्द्र का अध्यक्ष, कृषि, पशु, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, पत्रकार, समुदायका अगुवा र विभिन्न संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

गोष्ठीको अध्यक्षता राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले

“हेफर इन्टरनेसनल नेपालले स्थानीय तहमा कृषि र पशुपालनमा देखाएको सहयोगले किसानको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको बताउनुभयो । अब हामी सबै मिलेर यसलाई दीर्घकालीन र आत्मनिर्भर बनाउने दिशामा लाग्नुपर्छ।”

उहाँले सहकार्यलाई अझ प्राविधिक र उत्पादनमुखी बनाउन दुवै पालिकाको साझा योजना आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका प्रतिनिधि दुर्गा केसीले संस्थाले ग्रामीण महिला उत्थान केन्द्र (RWDC) घोराही, दाङको सहकार्यमा गढवा र राजपुर क्षेत्रमा गर्दै आएका विभिन्न सफल कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा कार्यान्वयन गरिने नयाँ योजनाबारे प्रस्तुति दिनुभयो।

उहाँले विशेषगरी महिला सशक्तिकरण, पशु बीमा, उद्यमशीलता विकास, दिगो कृषि उत्पादन र बजार व्यवस्थापनमा केन्द्रित कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो।

त्यस्तै, हेफरका अर्का प्रतिनिधि राजेन्द्रप्रसाद भारीले हाल सञ्चालनमा रहेका साझेदारी कार्यक्रमहरूको उपलब्धि, चुनौती, सिकाइ र सुधारका उपायहरूबारे विस्तृत रूपमा प्रस्तुति दिनुभयो।

त्यसैगरी गोष्ठीमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले “हेफर इन्टरनेसनल नेपालले कृषि तथा पशुपालन क्षेत्रमा देखाएको निरन्तर सहकार्यले गढवाका किसानमा आत्मनिर्भरता र सीप विकासमा ठुलो योगदान पुर्‍याएको बताउनुभयो । स्थानीय उत्पादनलाई बजारमा पुर्‍याउन अब दुवै पालिकाले साझा रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमको सहजीकरण राजपुर गाउँपालिका बिटा परियोजना संयोजक गिरिराज भट्टले गर्नुभएको थियो।

गोष्ठीले दुवै पालिकाको अनुभव आदान–प्रदान गर्दै ग्रामीण क्षेत्रमा आधारित दिगो कृषि प्रणाली, महिला सशक्तिकरण र उद्यम प्रवर्द्धनका लागि दीर्घकालीन साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै सम्पन्न भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID