गढवाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु

आलोक भावुक

गढवा, २१ कार्तिक। दाङको गढवा गाउँपालिकाले यस वर्ष किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ।

गाउँपालिकाले बिहीबारदेखि गहुँको बीउ वितरण कार्य प्रारम्भ गरेको हो। यस वर्ष कुल २ सय १ क्विन्टल (२० हजार १ सय किलो) गहुँको बीउ किसानहरूलाई वितरण गरिने गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।

अध्यक्ष पोख्रेलका अनुसार यसपालि गौतम, विजय, वाणगंगा, आदित्य र जिंक जातका गहुँका बीउ ल्याइएको छ। तीमध्ये विजय जातको १० हजार किलो, गौतम ९ हजार किलो, वाणगंगा ५ सय किलो, आदित्य १ सय किलो र जिंक ५ सय किलो बीउ वितरणका लागि तयारी गरिएको हो।

“किसानलाई गुणस्तरीय बीउ सहज र समयमा उपलब्ध गराउन हामीले विशेष प्राथमिकता दिएका छौं,” अध्यक्ष पोख्रेलले भन्नुभयो, “गुणस्तरीय बीउ प्रयोग गरे उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा छ।”

यसबीच, स्थानीय किसान राम गोपाल यादवले पालिकाको यो पहलप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामीजस्ता साना किसानका लागि यो अनुदान निकै उपयोगी भएको छ। अघिल्ला वर्षमा बीउ किन्नै समस्या हुन्थ्यो, अब पालिकाबाट नै समयमै बीउ पाउँदा गहुँ खेती सजिलो भएको छ।”

उहाँका अनुसार, यसपालि गुणस्तरीय बीउ पाएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको छ।

गाउँपालिकाले प्रत्येक वडाबाट माग अनुसार बीउ वितरण गर्ने र गहुँ उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID