
गढवा, २० कार्तिक। गढवा गाउँपालिका–१ कालाकाटेस्थित प्रतिष्ठा एकेडेमीका विद्यार्थीहरूले बिहीबार गाउँपालिकाको प्रशासनिक भवनको स्थलगत अध्ययन भ्रमण गरेका छन्।
कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूले ‘हाम्रो गढवा’ पुस्तकमा उल्लेख गरिएका गाउँपालिकाका संरचना र कार्यप्रणालीलाई प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले भ्रमण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल दीपक पोख्रेलले जानकारी दिनुभयो।
भ्रमणका क्रममा विद्यार्थीहरूले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, योजना शाखा, स्वास्थ्य शाखा, कृषि शाखा र प्रशासन, लगायतका शाखाको कार्यालय अवलोकन गर्दै ती शाखाहरूले प्रदान गर्दै आएका सेवा र जिम्मेवारीबारे विस्तृत जानकारी लिएका थिए।
विद्यालयका अनुसार यस्तो अध्ययन भ्रमणले विद्यार्थीहरूमा स्थानीय शासनप्रतिको बुझाइ, व्यवहारिक अध्ययनको क्षमता र सामुदायिक चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रिन्सिपल पोख्रेलका अनुसार,“विद्यार्थीहरूले कक्षामा पढेका विषयहरूलाई व्यवहारिक रूपमा बुझ्न र आफ्नै गाउँको विकास संरचना नजिकबाट हेर्ने अवसर पाए, जुन उनीहरूको अध्ययन यात्रामा महत्वपूर्ण अनुभव हुनेछ।”
गढवा गाउँपालिकाले पनि विद्यार्थीहरूको यस्तो अध्ययन प्रयत्नलाई स्वागत गर्दै आगामी दिनमा अन्य विद्यालयका विद्यार्थीहरूलाई समेत प्रशासनिक भवन भ्रमणमा सहभागी गराउने योजना रहेको जनाएको छ।




