गढवा ५ खज्रौटामा जानकी उद्यमी महिला समूहलाई तिनदिने आधारशिला तालिम

आलोक भावुक

गढवा, १९ कार्तिक। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गढवा गाउँपालिका–५ खज्रौटामा रहेका जानकी उद्यमी महिला समूहका सदस्यहरूलाई तिन दिने आधारशिला तालिम प्रदान गरिएको छ।

महिला सशक्तिकरण, महिला नेतृत्व र सामाजिक सहभागितामा महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले यो तालिम सञ्चालन गरेको हो।

तीन दिने तालिममा ३० जना उद्यमी महिलाहरूको सहभागिता रहेको थियो। प्रशिक्षण गढवा गाउँपालिका भिटा परियोजनाकी सामुदायिक सहजकर्ता कल्पना चौधरीले दिनुभएको हो।

गढवा गाउँपालिकाले यसअघि पनि भिटा परियोजनामार्फत आठवटै वडामा मूल समूह, उपहार समूह तथा विभिन्न टोलस्तरका उद्यमी महिला समूह गठन गरी आधारशिला तालिम सञ्चालन गरिसकेको जनाएको छ।

परियोजनाले कृषि तथा पशुपालनमा आधारित कार्यक्रममार्फत महिला उद्यमी र युवाहरूलाई स्वरोजगार र आत्मनिर्भरतातर्फ उन्मुख गर्न विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तालिमका क्रममा सहभागी महिलालाई व्यवसायिक उत्पादन, सहकार्य, आत्मनिर्भरता र समाजसेवाका लागि आवश्यक सीप तथा ज्ञान प्रदान गरिएको थियो।

गढवा गाउँपालिका भिटा परियोजना संयोजक बसन्तकुमार शर्माका अनुसार तालिमले महिला उद्यमीहरूमा नेतृत्व क्षमता विकास, सामूहिक कृषि उत्पादनमा सहकार्य, र समुदायमा समस्या समाधानमा सक्रिय भूमिकाको भावना जागृत गरेको छ।

तीन दिने तालिम जानकी उद्यमी महिला समूहकी अध्यक्ष सिमा यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID