
गढवा,१८ कार्तिक। पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँके अन्तर्गतको पशु क्वारेन्टाइन अस्थायी चेकपोष्ट भालुबाङ दाङको आयोजना तथा गढवा गाउँपालिका वडा नं. ६ को सहकार्यमा अबैध पैठारी नियन्त्रण कार्यदल गठन तथा परिचालन कार्यक्रम सम्पन्न भएको छ।
गढवा गाउँपालिका वडा कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा क्वारेन्टाइन अस्थायी चेकपोष्ट भालुबाङका प्रमुख विजय कुमार थारुको अध्यक्षता र वडा नं. ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा प्रमुख थारुले पशु क्वारेन्टाइनको भूमिका, अबैध पैठारीका जोखिम र नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।
प्रमुख अतिथि वडाध्यक्ष विर बहादुर आले मगरले अवैध पैठारी नियन्त्रणका लागि संबन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले नवगठित कार्यदलले सीमाक्षेत्रमा अवैध पैठारी नियन्त्रणका लागि प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
पशु क्वारेन्टाइन अस्थायी चेकपोष्टको संयोजकत्वमा कार्यदल गठन भएको छ। जस्को सदस्यहरुमा गढवा गाउँपालिका वडा नम्बर ६, ईलाका प्रहरी कार्यालय गढवा, बि.ओ.पी. सुरक्षा गुल्म कोइलाबास, गढवा उद्योग वाणिज्य संघ, कृष्क, व्यवसायी, गढवा गाउँपालिका पशु विकास शाखा, सञ्चारकर्मी लगायत रहेका छन्।
कार्यक्रमको सञ्चालन पशु क्वारेन्टाइन अस्थायी चेकपोष्ट भालुबाङ दाङकी पशु प्राविधिक तारा न्योपानेले गर्नु भएको थियो।




