
गढवा,१५ कार्तिक । गढवा गाउँपालिका ६, बालखुट्टी चौरस्थित देवी मन्दिर परिसर आजदेखि श्रीमद्भागवत धनधाञ्याचल ज्ञान महायज्ञ एवम् श्रृंगारिक महाआरतीको शुभारम्भसँगै धार्मिक माहोलमा रमेको छ।
मन्दिर क्षेत्रको समग्र विकासका उद्देश्यले सुरु गरिएको महायज्ञको उद्घाटन आज विशेष समारोहका बीच सम्पन्न हुनेछ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश यादवका अनुसार महायज्ञबाट रु १ करोड बराबरको आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ भने करिब रु २५ लाख खर्च हुने अनुमान गरिएको छ।
यस महायज्ञबाट प्राप्त रकमबाट राधाकृष्ण मन्दिर स्थापना, धार्मिक पार्क निर्माण र धर्मशाला निर्माण कार्य अघि बढाइने योजना समितिले जनाएको छ। अध्यक्ष यादवका अनुसार, “महायज्ञले बालखुट्टी क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।”
महायज्ञमा प्रसिद्ध कथा वाचक कोमल उपाध्यायले श्रीमद्भागवत कथा वाचन गर्नुहुनेछ। दैनिक रुपमा हुने श्रृंगारिक महाआरतीमा स्थानीय भक्तजन तथा बाहिरी क्षेत्रबाट आएका श्रद्धालुहरूको बाक्लो सहभागिता रहने अपेक्षा गरिएको छ।
देवी मन्दिर परिसरलाई आकर्षक रूपमा सजाइएको छ। बत्ती र फूलले झलमल्ल बनेको मन्दिर वरपर चाडपर्वको जस्तै रौनक छाएको छ। यस मन्दिरबाट कन्दरा देवी मन्दिर करिब २ किलोमिटर टाढा रहेको छ भने गढवा बजार करिब ३ किलोमिटर दूरीमा अवस्थित छ।
स्थानीय बासिन्दाहरूले देवी मन्दिरमा सुरु भएको महायज्ञले गाउँमा धार्मिक एकता, पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा नयाँ उर्जा भर्ने विश्वास व्यक्त गरेका छन्।




