
गढवा, १४ कार्तिक। हिन्दूहरूको दोस्रो महान चाड तिहारको अवसरमा देशभर उत्सवको रौनक छाइरहँदा गढवा गाउँपालिका–१, बडाराका युवायुवतीहरूले उदाहरणीय काम गरेर स्थानीयको ध्यान खिचेका छन्। मूर्तिकार भीमबहादुर विश्वकर्मा (भिम बिक) को नेतृत्वमा खेलिएको देउसीभैलोबाट संकलित रकम गाउँ विकासमा खर्च गरिएको छ।
सामान्यतया देउसीभैलोबाट उठेको रकम मनोरञ्जन, खानपिन र रमाइलोमा खर्च गर्ने प्रचलन रहँदै आएको छ। तर यसपालि बडाराका युवायुवतीहरूले त्यस परम्परालाई सकारात्मक दिशातर्फ मोडेका छन्। उनीहरूले सङ्कलित रकममध्ये रु. ३५,००० बराबरको लागतमा गाउँमा जडान गरी बस्ती उज्यालो पारेका छन्।
“पहिले अँध्यारो हुँदा रातमा हिँडडुल गर्न कठिन हुन्थ्यो। अब गाउँ झलमल्ल उज्यालो भएको छ,” मूर्तिकार भीमबहादुर विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार, केही रकम खानपिन र रमाइलोमा प्रयोग भए पनि बढी हिस्सा गाउँलाई उज्यालो बनाउन खर्च गरिएको हो।
स्थानीय बासिन्दाहरूले युवाहरूको यो कदमको खुलेर प्रशंसा गरेका छन्। गाउँकै युवायुवतीहरूले आफ्नो श्रम, समय र सृजनशीलता लगानी गरेर गाउँ उज्यालो बनाएकोमा सबै खुशी छन्।
“आफ्नो गाउँ आफैं बनाऔं” भन्ने अभियानलाई मूर्त रूप दिन देउसीभैलो टिमको यो प्रयास प्रेरणादायी बनेको छ। यसले गाउँमा सामूहिकता र सहकार्यको नयाँ ऊर्जा प्रवाह गरेको छ।
भविष्यमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई विकास, सरसफाइ, शिक्षा र सामाजिक सेवा जस्ता क्षेत्रमा जोड्दै लैजाने लक्ष्य लिएको देउसीभैलो टिमले जनाएको छ।
तिहारको उल्लाससँगै बडारा गाउँको रात अहिले झलमल्ल उज्यालोमा रमाएको छ, जहाँ संस्कृति, सेवा र सन्देश एउटै मञ्चमा उज्यालो भएर चम्किएका छन्।




