
गढवा,७ कार्तिक । आजका मितिसम्म मेरो तीन दर्जन बढी संस्थाहरुमा सहभगिता रह्यो जसमध्ये २७ वटा संस्थामा पदाधिकारीको भुमिकामा रहेर काम गरें भनें चारवटा संस्थाको नेतृत्व पनि लिएँ । यी मध्ये देउखुरी सामुदायिक पुस्तकालय र देउखुरी साहित्य मञ्चमा मेरो अलि धेरै लगानी छ।मेरै नेतृत्वमा भवन निर्माण पनि भए र यी दुबै संस्थाहरु राष्ट्रिय स्तरमा धेरै हिसाबले परिचित पनि छन् । यो मेरो आत्मालाप मात्र नभएर आत्मसन्तुष्टि पनि हो।
अब प्रसङ्गमा जाऊँ:
पुस्तकालयमा नेतृत्व लिएर तीन वर्ष पछि मैले उपाध्यक्षलाई जिम्मेवारी सुम्पिएको हुँ। त्यो बेला कार्यक्रमबाट बचाएर राखेको ७ लाख पचासी हजार रुपियाँ बैंक खातामा सुम्पिएर संस्था दिगोरुपमा अगाडि बढोस् भन्ने कामना पनि गरेको हुँ। स्मरण रहोस् : संस्था दर्ता गर्दा मैले आफ्नो निजी खर्च गरेको हुँ, पुस्तकालय निर्माण गर्दा ३४ दिन बिदा लिएको हुँ, समुद्घाटनका बेला समय जुधेर आयोगको परीक्षा छुटाएको हुँ र दौडधुपमा खुट्टा मर्किएर हस्पिटल पनि चाहारेको हुँ।
तेस्रो पटक पदाधिकारी चयन हुदा संस्था पुरै राजनीतिमय बन्यो। संस्थापकको कुरै छाडौं,संस्थागत मूल्यमान्यता र न्युनतम परामर्शका च्याप्टरहरु समेत समाप्त भए । सबै राजनितिक दललाई भाग पुग्नेगरी पदहरु बण्डा लगाइयो र दुई धारको घमासान घोषणा भयो ।जब निर्वाचनको चरमोत्कर्ष देखा पर्यो तब केही महानुभावहरुमा “संस्थापक अध्यक्ष पनि छ नि त “भन्ने चेत खुल्यो र लगत्तै फकाउने खालका भेटघाट शुरु भए । त्यसपछि के भयो भन्न जरुरी छैन।
मूलत: यो समाजमा महिलाले नेतृत्व लिनु राम्रो पक्ष थियो र उहाँको जित भएपछि म जति खुसी भएँ त्यति आशावादी पनि भएँ। अघिल्लो समितिका आठओटा कमजोर पक्षको बारेमा जानकारी पनि गराएँ र सुधार गर्ने शुभकामना पनि दिएँ। दुर्भाग्य त्यो कार्यकालमा र त्यो अघिको कार्यकालका ६ वर्ष सम्मका बैठकहरुमा मलाई कुनै आमन्त्रण छैन।( यो कुरा झुट बोल्न हुदैन कि पुस्तकालयका बाहिरी कार्यक्रमहरूमा शतप्रतिशत निमन्त्रणा छ।) तर यो पनि बुझ्न जरुरी छ कि बैठक योजना निर्माणको बसाई हो जसमा संस्थापकको उपस्थिति अनिबार्य जस्तै मानिन्छ। कार्यक्रम भनेको निम्ता हो फुर्सद भए जान सकिन्छ नत्र नजादा पनि केही बिग्रन्न।
संस्थाका बारेमा प्रश्नहरु अघिल्लो कार्यकालदेखि उठ्न थालेका हुन् ।संस्थापक हुँ भन्ने नैतिकताका आधारमा मैले धेरै कुरा सार्वजनिक गरिन र अहिले पनि गर्दिन। सबै प्रश्नहरु सत्यमा आधारित नहुन पनि सक्छन भन्ने हेक्का मैले राखेकै छु। दोस्रो कार्यकालका अध्यक्षलाई पुस्तकालयमै पुगेर केही गुनासो राक्गेको हुँ।तेस्रो कार्यकालकी अध्यक्षलाई पनि तपाईको समितिमाथि प्रश्नहरु छन भनेर जानकारी गराएको हुँ र एउटा विशेष कार्यक्रमको आयोजना गर्न अनुरोध पनि गरेको हुँ ,हुन्छ पनि भन्नु भएको हो तर कार्यक्रम भएन बरु एकैपटक एक्कासी अधिवेशन भयो। सरोकारवालाबाट मसङ्ग आएका केही प्रश्न जुन धेरैजसो आर्थिक जिम्मेवारीसङ्ग जोडिएका छन् तिनको जवाफ अब कसले दिनुहुन्छ मलाई थाहा छैन ।
पुस्तकालय आज चौथो अध्यक्षको खोजिमा छ ।अध्यक्षको पद हाइलाइटेड छ भनौं अध्यक्षको निकै ठुलो महत्व छ। निर्वाचन समिति बनेको छ। गत असारमा कर्मचारीले मलाई पुस्तकालयमा बोलाई आफ्नो निजी पैसाले चिया खुवाउदै “यो अवस्थामा हामीले कार्यसमितिको साथ पाएनौं,तलब पाएनौं,हामी एक्लै भयौ , बोलाउदा कोही आउनुहुन्न, यही बाटो हिड्नुहुन्छ, परबाट हेर्नुहुन्छ, कोही सदस्यले त एक वर्षदेखि पाइला टेक्नुभएको छैन ,अब पुस्तकालय बन्द गरौं कि के गरौं संस्थापक अध्यक्षलाई नसोधेर कसलाई सोधौं”भनेर गुनासो गरेपछि मेरो इज्जतका लागि भए पनि एक महिना ताला नलगाऊँ म केही गर्छु भनेर मैले बोलेपछि पुस्तकालय ताला लाग्नबाट बचेको हो। मैले यो कुरा किन गर्दैछु भनें अबका पदाधिकारीका दावेदार ब्यक्तिहरुले पुस्तकालयको औचित्य, उद्देश्य र दिगोपना सम्झिनु पर्नेछ, इतिहास जति निमोठेपनि मर्दैन भन्ने बुझ्न जरुरी छ। नेतृत्व पो मेरो थियो, समर्पण र सहयोग त समाजको हो नि!
राजनितिक चेतना म मा पनि छ । जति कुरा गरेपनि त्यहाँ जाने ब्यक्ति राजनितिक आस्था भएकै जाने हुन् । तर राजनीति गर्नेहरुले कम्तिमा यो कुरा सोच्नु पर्थ्यो कि हामीले पठाएको मान्छे यो संस्थाका लागि योग्य छ । तर त्यसो हुदै भएन ।एउटा दलले पठाएको उपाध्यक्षले अहिले अध्यक्ष सम्हाल्नु पर्थ्यो अहँ सम्हालेन।अर्को दलले लगातार सचिव पठायो, दुई कार्यकाल सचिव सम्हालेपछि तेस्रो कार्यकालमा सचिवको चुनाव लड्न जरुरी थिएन ,सचिव बन्नेले अध्यक्ष बन्ने हिम्मत गर्नुभएन बरु १० वर्ष बिताएर भर्र्याङ् बनेको होस उतार्नुभयो। अर्को दलले कोषाध्यक्ष बनाएर पठायो । कोषाध्यक्षको पदीय दायित्व थियो ?अहँ थिएन उहाँले अझैपनि धेरै प्रश्नको जवाफ दिन सक्नुहुन्न ? उपस्थिति पल्टाएर हेर्नेभो भने सदस्यको उपस्थिति टिठ लाग्दो छ। कतिलाई त म कुन जिम्मेवारीमा छु भन्ने पनि थाहा रहेनछ ,नाम नभनौ ।संस्थामा फरक पदहरु किन राखिन्छन ? यति कुराको हेक्का संस्थामा काम गर्छु भन्नेले हेक्का राख्नु पर्दैन?
मेरो अनुरोध छ: राजनितिक चेतना लिएर संस्थामा जानुस् तर लापर्बाही नगरिदिनुस। अहिले उपाध्यक्ष हुनेले अर्को पटक अध्यक्ष सम्हाल्नुस, सचिव उपाध्यक्ष बन्नुस तर पटक पटक सचिव नबन्नुस ,आर्थिक क्षमता भएकोले मात्र कोषाध्यक्ष सम्हाल्नुस, सदस्य बन्नेहरुले एक एक वटा कार्यक्रम र कक्षहरु सम्हाल्नुस ,सद्स्य भएकोमा गर्व गर्नुस। आगामी दिनमा त्यसो भएन र गरिएन भनें विधान परिव्र्तन हुनेछ र ” कुनै पनि आजीवन सदस्य संस्थाको पदाधिकारी बन्न सक्नेछ” भन्ने प्रावधान ल्याइनेछ । म बाहिर नभएको भए सायद यो प्रस्ताव यसै अधिवेशनमा ल्याउथे । त्यसैले साथीहरु योजना बनाउनुस, ठाउँ ठाउँमा प्रस्ताव पेश गर्नुस। आजीवन सदस्यको रकम एक रुपियाँ पनि नमास्नुस।यो संस्था कसैले जन्माएको हो भनेर सोंच्नुस, पुस्तकालय स्थापना गर्दाको पुस्तक खोजेर मुल्यांकन गर्नुस् ,मनमा केही जाग्छ भने परामर्श गर्नुस् । अधिकतम बैठक राख्नुस, कार्यक्रमको पैसा जोगाउनुस,यो कमाउने ठाउँ होइन भन्ने सम्झिनुस। मलाई आफ्नो सन्तान जत्तिकै यो संस्थाको माया छ। बन्दाबन्दैको भवनमा रात बिताएको छु, संस्थाको हितमा ब्यक्तिगत दुश्मनी पनि भए होला, कसैको चित्त दुखाइए होला, खाजा सम्म नखाँदा छुचो बनिए होला। धेरैले ब्यक्तिगत प्रस्तावमा नेतृत्व लिन आग्रह पनि गर्नुभएको छ।म चाहेर पनि केही समय जिम्मेवारीमा आउन सक्दिन। मलाई सम्झिने सबैप्रति नतमस्तक छु, सम्मानभाव प्रकट गर्दछु । समयले कुनै दिन फेरि फर्काउन सक्छ।पुस्तकालय बाँचोस तपाई हाम्रो इज्जत बढोस् । शुभकामना ।
-हरि पोख्रेल संस्थापक अध्यक्ष देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा




