
गढवा, २० असोज। युवा जागरणको अभियानमा सक्रिय “Gen-Z Movement Alliance” ले गढवा गाउँपालिकामा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याबारे गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई एक औपचारिक ध्यानाकर्षण पत्र बुझाएको छ।
उक्त पत्रमा गाउँपालिकाभित्रका स्वास्थ्य चौकीहरूमा चिकित्सकहरूको अनियमित उपस्थिती, औषधिको अभाव, र सेवा प्रवाहमा ढिलासुस्ती जस्ता समस्याहरूको उल्लेख गरिएको छ। पत्रमार्फत गाउँपालिका प्रमुखलाई तत्काल प्रभावकारी कदम चाल्न माग गरिएको थियो।
संघका प्रतिनिधिहरूले ध्यानाकर्षण पत्र बुझाउँदा अध्यक्ष पोख्रेलले युवाहरूको पहलप्रति सकरात्मक प्रतिक्रिया जनाउँदै भन्नु भयो “स्वास्थ्य सेवा जनताको पहिलो आवश्यकता हो। तपाईंहरूले औंल्याएको समस्या वास्तविक हो र हामी यसलाई तुरुन्त प्राथमिकतामा राखेर समाधानतर्फ अघि बढ्छौं।”
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिकाको स्वास्थ्य शाखा र सम्बन्धित चौकीहरूलाई आवश्यक निर्देशन दिइने बताउँदै, “डाक्टर र स्वास्थ्यकर्मीहरूको नियमित उपस्थिति सुनिश्चित गर्न र औषधि आपूर्तिमा कमी आउन नदिन तत्काल कदम चालिनेछ,” भन्ने प्रतिबद्धता जनाउनु भयो।
Gen-Z Movement Alliance का सदस्यहरूले यो कदमलाई जनताका आवाजलाई प्रत्यक्ष जिम्मेवार निकायसम्म पुर्याउने प्रयासको रूपमा व्याख्या गरेका छन्। उनीहरूले अब गाउँपालिकाले दिएको आश्वासनलाई निगरानी गर्दै कार्यान्वयनको अवस्थाबारे अनुगमन रिपोर्ट सार्वजनिक गर्ने योजना पनि बनाएको बताएका छन्।
यसअघि सोही समूहले गढवा गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीमा गरिएका सर्वेक्षणमा सेवा गुणस्तर कमजोर रहेको तथ्य फेला पारेको थियो।
जेन जी युवा समूहले भनेको छ, “हामी कुनै राजनीतिक उद्देश्यले होइन, जनताको स्वास्थ्य अधिकारका लागि बोलिरहेका हौं।”
युवा जागरणको अभियानमा सक्रिय “Gen-Z Movement Alliance” ले आज गढवा गाउँपालिका, राजपुर गाउँपालिका र लमही नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिएको छ।




