
काठमाडौं, १९ असोज। नेपाली चलचित्र ‘बलिदान’ ले देशभरका हलहरूमा सातौँ हप्ता पूरा गर्दा पनि दर्शकको माया अझ बढ्दो क्रममा छ। वडादशैंको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको यो चलचित्रले कथा, अभिनय र देशप्रेमको अद्भुत संयोजन प्रस्तुत गर्दै सबै उमेरका दर्शकको मन जितिरहेको छ। हलमा पुग्ने दर्शकहरू उत्साहले भरिएका छन्, कतिपय समीर भट्टलाई हेर्नकै लागि टाढाटाढाबाट आइपुग्छन्, कोही सेल्फी खिच्छन्, कोही भावनामा बग्छन्, र कतिपय त चलचित्रको अन्त्य दृश्यमा आँसु झार्दै हलमै रुन पुग्छन्।

निर्माता प्रेम पुरीले पछिल्लो समय पैसा लिएर नकारात्मक टिप्पणी गर्नेहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै दर्शकलाई आग्रह गरे— “फिल्म नहेरी नराम्रो भन्नेलाई कृपया हलमा गएर ‘बलिदान’ हेरेर मात्र प्रतिक्रिया दिनुहोस्।” निर्देशक सन्तोष सेनले पनि फिल्मप्रति आफ्नो आत्मविश्वास प्रष्ट पार्दै भने— “यदि फिल्म नराम्रो लाग्यो भने म पैसा फिर्ता गर्न तयार छु।” यी भनाइहरूले चलचित्र टिमको समर्पण र दर्शकप्रतिको सम्मान झल्काउँछ।
दर्शकहरूका अनुसार ‘बलिदान’ केवल चलचित्र मात्र होइन, यो नेपालको पछिल्लो पुस्ताको आन्दोलन, देश र जनताको भावना र माटोको गन्ध मिसिएको कथा हो। कथा यति गहिरो छ कि हलबाट निस्कँदा धेरैको आँखामा देशप्रेमका आँसु झल्किन्छ। यही कारणले यो चलचित्रलाई सबैले लामो रेसको घोडा भनेर सम्बोधन गर्न थालेका छन्।

रिलिज अघि नै यसको पोस्टर, टिजर, ट्रेलर र गीतले ठूलो चर्चा पाएको थियो। प्रदर्शनपछि त्यो चर्चा झन् बढ्दै गएको छ। ‘बलिदान’ सँगै अन्य दुई नेपाली चलचित्र पनि रिलिज भए पनि दर्शकको आकर्षण भने बलिदानमै केन्द्रित छ।
आसुसेन फिल्म्स प्रालि को ब्यानरमा बनेको यो चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिष्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन्। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक स्वयं सन्तोष सेनको दमदार अभिनय देख्न सकिन्छ। चलचित्रको वितरण काफिया फिल्म र कुबेर फिल्मले संयुक्त रूपमा गरेका छन्।
देशप्रेम, भावना र बलिदानको आत्मा बोकेको यो चलचित्र अहिले हलहरूमा भावनाको बाढी ल्याइरहेको छ, र दर्शकहरू यही जोशका साथ भन्छन् “बलिदान केवल फिल्म होइन, यो हाम्रो आत्माको कथा हो।”





