नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ को बैठक सम्पन्न

प्रिया स्मृति गजमेर

दाङ, असोज ५ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज लमहीमा सम्पन्न भएको छ । बैठकले विभिन्न राजनीतिक, सामाजिक र संगठनात्मक विषयमा निर्णय गरेको क्षेत्रीय प्रवक्ता अजय न्यौपानेले जानकारी दिनुभयो ।

बैठकले आउँदै गरेको बडादसैं, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । त्यस्तै जेनजी पुस्ताले उठाएका मागलाई सकारात्मक ठहर गर्दै बैठकले अराजक तत्वले देशभर गरेको तोडफोड, आगजनी र धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । साथै पार्टी सभापति शेरबहादुर देउवासहितका नेतामाथि भएको भौतिक आक्रमणको घोर निन्दा गर्दै आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

त्यसैगरी लमहीस्थित रातोडाँडामा रहेको वीपी स्मृति भवनमा जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई मध्यनजर गर्दै सहयोगका लागि नेता तथा कार्यकर्तालाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ । काङ्ग्रेसका युवा नेता लालवीर खड्काबाट १ थान टेबल, राजेन्द्र श्रेष्ठबाट कार्यालयको मुख्य द्वार निर्माण, गोविन्द रेग्मीबाट २५ थान कुर्सी र इश्वरप्रकाश श्रेष्ठबाट एक थान स्टिल दराज उपलब्ध भएको छ । सहयोग गर्ने नेता तथा कार्यकर्तालाई धन्यवादपत्र प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले पार्टीका विभिन्न तहमा सक्रिय र क्रियाशील कार्यकर्ताहरूको निधनप्रति समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा सम्पन्न बैठक सम्पन्न भएको हो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID