माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान : गढवामा माओवादी नेताको निष्कर्ष

आलोक भावुक

गढवा, ६ असोज। नेकपा माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान रहेको गढवामा आयोजित कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ले बताउनुभएको छ।

वडा नं. ६ को बैठकमा बोल्दै उहाँले जेनजी आन्दोलनलाई ऐतिहासिक र आवश्यक ठहर गर्दै देशमा बढ्दै गएको भ्रष्टाचार र राजनीतिक अस्थिरता अन्त्य गर्न यस्तो आन्दोलन अपरिहार्य भएको धारणा राख्नुभयो। उहाँले हालको व्यवस्थालाई कमजोर बनाउन बाह्य शक्तिहरूले घुसपैठ गर्ने प्रयास गरे पनि त्यो असफल भएको बताउँदै माओवादी केन्द्रका नेता–कार्यकर्ता कठिन परिस्थितिमा पनि सिद्धान्तप्रति अडिग रहेको सन्देश दिएको उल्लेख गर्नुभयो।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले विकास अबरुद्ध हुँदा बिद्रोह सुरु हुने र त्यसैको परिणामस्वरूप जेनजी आन्दोलन जन्मिएको बताउनुभयो। उहाँले कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान कार्यान्वयन र सुशासनतर्फ अघि बढ्न नसकेर भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाउनुभयो।

थारुले माओवादी सरकारले आफ्नै नेतालाई कानुनको कठघरामा उभ्याएर भ्रष्टाचारविरुद्धको प्रतिबद्धता देखाएको स्मरण गर्दै एमाले–कांग्रेस भने भ्रष्टाचारमा डुबेको र तानाशाही ढंगले अघि बढिरहेको आरोप लगाउनुभयो। उहाँले जेनजी पुस्ताले सामाजिक सञ्जालमार्फत देशको वास्तविकता बुझेर सडकमा समर्थन जनाएको स्पष्ट पार्नुभयो।

बैठकमा माओवादी केन्द्रका नेता तथा ६ नं. वडाध्यक्ष वीरबहादुर आलेमगर, गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरे, वडा कमिटी अध्यक्ष मोहन राना लगायत पदाधिकारीहरूको उपस्थिति थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID