
दाङ,१ असोज। दाङ भ्याली यातायात प्रा.लिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थापक अध्यक्ष वेत प्रकाश वलीको अध्यक्षता तथा जेष्ठ यातायात व्यवसायी गोपाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि चौधरीले व्यवसायीक एकता आजको आवश्यकता रहेको र त्यो काम दाङ भ्याली यातायात प्रा.लिले गरेको उल्लेख गर्दै सरकारले तोकेको भाडादर अनुसार यात्रु सेवामा निरन्तरता दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
यस्तै संस्थाका नव निर्वाचित अध्यक्ष महेन्द्र महराले संस्थामा करिब १ हजार सवारी साधन आबद्धता लिएको जानकारी दिनुभयो। उहाँले प्रालीको सांगठनिक प्रतिवेदन र आगामी योजना बारे पनि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा संस्थाको घोराही, लमही, हापुरे, बिजौरी शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
त्यस अवसरमा संस्थाका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार नहुस कुमार लामिछाने र प्रशासन सहायक सुलभ सिंहलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ फिल्ड सहायक विष्णु कुमारी ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार निरला अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
यसैबीच अधिवेशनले आगामी ४ वर्ष कार्यकालका लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा महेन्द्र महरा, वरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर रेउले, महासचिवमा खुम बहादुर वली सचिवमा चित्र बहादुर नेपाली, कोषाध्यक्षमा राम बहादुर केसी, सहसचिवमा टंकी नेपाली सर्वसम्मत निर्वाचित हुनुभएको हो । कार्यक्रममा पदाधिकारीहरुको पद हस्तान्तरण समेत गरिएको थियो ।




