अहिलेको सरकार नेताहरुले होइन्, विचौलियाले उनीहरुको घरमा, होटलमा लगेर बनाएका हुन्: अध्यक्ष प्रचण्ड

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तारुढ गठबन्धन नेताहरूले नभई विचौलिया र दलालहरूले आफ्नो स्वार्थमा गठन गरेको सरकार भएको आरोप लगाउनुभएको छ। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनलाई बुधबार काठमाडौँको प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले यो सरकारले भ्रष्टाचार, बेथिति, र अराजकताविरुद्ध कुनै प्रभावकारी कदम चाल्न नसक्ने बताउनुभयो।

“यो गठबन्धन नेताहरूले बनाएको होइन। यो कुरा मलाई राम्रोसँग थाहा छ। यो विचौलिया र दलालहरूले उनीहरूको घर र होटलमा बसेर आफ्नो इच्छाअनुसार बनाएको सरकार हो। त्यसैले यो सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध केही गर्न सक्दैन,” प्रचण्डले भन्नुभयो। उहाँले थप्नुभयो, “राम्रो काम गर्न खोज्नेहरूलाई हटाइन्छ। कुलमान घिसिङ, कान्छाराम, इन्दिरा राना जस्ता योग्य व्यक्तिहरूलाई हटाइयो। लक्षित रूपमा जनजातिलाई हटाएर विचौलियाका मानिसलाई नियुक्त गर्ने काम भइरहेको छ।”

अहिले अस्थिरता, अराजकता, वेथिति र भ्रष्टाचारले संस्थागत रुप लिएकोमा चिन्ता व्यक्त गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा देखिएको सपनाअनुसार अगाडि बढ्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले संविधानमाथि घात हुने खतरा टरेको छैन । अस्थिरता, अराजतकता, वेथिति, भ्रष्टाचार संस्थागत भएकै छन । जनयुद्ध र जनआन्दोलनमा सहभागिता जनाएर देखेको सपनाअनुसार अगाडि बढ्न सकेको छैन । बरु उपलब्धी गुम्ने खतरा छ ।

पुरानै प्रणालीबाट अब सम्भव छैन

पूर्वप्रधानमन्त्री प्रचण्डले पुरानै प्रणाली र शासकीय स्वरुपबाट काम अगाडि बढ्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, पुरानै प्रणालीबाट अब सम्भव छैन । शासकीय स्वरुप परिवर्तन हुनुपर्छ । कम्तिमा पनि कार्यकारी प्रमुख राष्टपति हुन आवश्यक छ । हामीले विगतमा पनि यहीँ भनेर संविधानलाई स्वीकार गरेका हौँ । यो हामीले अहिले होइन् १० एघार वर्ष अगाडि नै भनेको हो ।

शासकीय स्वरुप कार्यकारी हुने र जनताको इच्छाअनुसार काम गर्न सहजताका लागि आफूहरुले विगतमा यी कुरा उठाएको स्मरण प्रचण्डले गर्नुभयो । उहाँले भन्नुभयो, सबै नेपालीले मतदान गर्ने गरी कार्यकारी राष्टपति हुने, मन्त्री हुन सांसद हुन नपर्ने तर विभिन्न क्षेत्रका विज्ञहरु हुनुपर्ने । मन्त्री हुन सांसद हुनुपर्ने भएपछि भ्रष्टाचार त्यहीँबाट जन्मिएको छ । कार्यकारी राष्टपतिले सबैभन्दा योग्यलाई मन्त्री बनाउन पाउनु पर्छ । तब मात्रै सुशासन र स्थिरता हुन्छ । त्यो बेला संविधान बनाउन हामीले सम्झौता त्यो गरेका हौँ । यो कुरा हामीले पटक पटक भन्यौँ । संविधानसभाको माइनुटमा यो भिन्न मत राखेका छौँ ।

कार्यकारी राष्ट्रपतिका लागि फेरि अन्दोलन गनुपर्नेमा प्रचण्डले जोड दिनुभयो । उहाँले भन्नुभयो, अहिले फेरि एक पटक कार्यकारी राष्टपतिका लागि जनस्तरबाटै आन्दालनमा जानुपर्ने अवस्था छ । यो कुरा गाउँ गाउँमा, टोलटोलमा बुझाउन जरुरी छ ।

निर्वाचन प्रणाली पनि परिवर्तन गरौँ

प्रचण्डले निर्वाचन प्रणालीमा पनि परिवर्तन जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, अहिलेको निर्वाचन प्रणाली धनीहरुले मात्रै लड्न सक्ने निर्वाचन प्रणाली हो । अहिलेको निर्वाचन प्रणालीले पनि स्थीरता पनि दिँदैन् सुशासन पनि हुँदैन । त्इसैले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ । पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने हो । यो पनि हामीले त्यो बेला नै भनेको हो ।

पूर्णसमानुपातिक निर्वाचन प्रणालीबारे केहीले गलत अर्थ लगाएको प्रचण्डको टिप्पणी छ । उहाँले भन्नुभयो, ुपूर्ण समानुपातिक निर्वाचन प्रणाली भनेको भोटै हाल्न नपाउने होइन । महिलालाई ५१ प्रतिशत दिने हो भने प्रत्यक्ष निर्वाचनमार्फत ५१ प्रतिशत महिला नै निर्वाचित हुने भनेको हो । महिला महिलाबीच प्रतिस्पर्धा होस् भनिएको हो । यसको गलत अर्थ लगाइएको छ ।

सामन्तवाद पराजित भए पनि दलाल पुजीवाद बाँकी छ

प्रचण्डले अहिले दलाल पुजीवाद र नोकरशाही पुजीवाद समस्याको जड भएको बताउनु भयो । उहाँले भन्नुभयो, दलाल पूजीवाद र नोकरशाही पुजीवाद नै अहिलेको समस्या हो । रुप हेर्दा राज्य पार्टीहरुले चलाएको जस्तो देखिन्छ । राज्य पार्टी र पार्टीको विचारले भन्दा दलाल पुजीपतिको पैसाको बलले विचौलियाले खरिद गरेर चलाएको व्यवस्था हो यो ।

आफू नेतृत्वको सरकारले विचौलियाको सेटिङलाई भत्काउन खोजेको र सुशासन दिन खोज्दा सरकार ढलेको कुरा प्रचण्डले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, हामी सरकारमा गएर विचौलियाको सेटिङलाई भत्काउन खोजेकै हो । सुशासन दिन खोजिएकै हो । विचौलियाको पैसाको भरमा सेटिङमा हुने काम रोकिएकै हो । भ्रष्टाचारविरुद्ध अभियान थालिएकै हो ।

अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको सडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र अन्त्य गर्न सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो। “म यो विश्वास लिएको छु कि तपाईंहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्व भैरहेको षड्यन्त्रविरुद्धको संकल्प लिनुहुनेछ,” उहाँले भन्नुभयो।

उहाँले संविधान पार्टीले चाहे अनुसार निर्माण गर्न नसकिएपनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताउनुभयो । तर जुन उदेश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयन भन्दा संविधान विरूद्व गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धिहरू उल्टिने खतरा देखिएको छ।”

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID