
घोराही भदौ ९ । गएको असार २ गतेदेखि घोराहीको गुम्राहाचोकमा साँझ बिहान बटुवाहरुलाई निःशुल्क खाना खुवाई रहेको जय महाकाल सेवा समाजले मंगलबार तीजको दिन घोराहीमा विशेष तीज कार्यक्रमसहित हालसम्म सहयोग गरिरहेका दाताहरुलाई अभिनन्दन गर्ने भएको छ ।
तीजको दिन केन्द्रीयकलाकारहरुसहित घोराहीको सभाहलमा विहान १० बजेदेखि साँझसम्म सञ्चालन हुने तीज विशेष कार्यक्रममा सबैजना निःशुल्क सहभागि हुन सक्नेछन् ।
घोराहीको व्यस्त ठाउँमा विहान साँझ गरी दैनिक एकदुईसय व्यक्तिलाई खाना खुवाई रहेको महाकालले आयोजना गर्न लागि रहेको तीज विशेष कार्यक्रमलाई सफल बनाउन स्वतस्फूर्त तरिकाले केही व्यक्तिहरुले सहयोग गर्नु भएको छ ।
कलकारहरु पनि सामाजिक कार्यसँग जोडिएको संस्था भएकाले महाकाललाई सहयोग गर्ने उद्देश्यले तीज मिलन कार्यक्रममा सहभागिता जनाउन लाग्नु भएको महाकालका सल्लाहकार सविन प्रियासनले जानकारी दिनुभयो । यसैगरी कार्यक्रममा सहभागिता जनाउनका लागि महाकालका अध्यक्ष श्रीधर गिरी, सचिव केशब गिरीले सबैसँग अनुरोध गर्नु भएको छ ।
तीज मिलन कार्यक्रमलाई व्यापक बनाउन सबैलाई निम्तो दिने, प्रचारप्रसार गर्ने काम भएको कोषाध्यक्ष खगेन्द्र खत्रीले जानकारी दिनुभयो । तीज कार्यक्रममा चर्चित कलाकारहरु चन्द्र शर्मा, कमल गाउँले, सशीला थापा, प्रेम शर्मा, विष्णु सुनार, विमला खड्का, कमला पुन, सिता थापा, वर्षा मगर, राजेन्द्र दाहाल, मनोज रसाइली, दिपक शर्मा, केशव रावतलगायतका कलाकारहरुको सहभागिता रहने जय महाकालले जनाएको छ ।




