
गढवा, ५ भदौ। गढवा गाउँपालिका र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङबीच साझेदारीमा अति विपन्न, असहाय र एकल महिलाहरूलाई लक्षित गरी आवास निर्माण गर्ने सम्झौता सम्पन्न भएको छ।
यस अन्तर्गत गढवा गाउँपालिकाभित्र विभिन्न वडामा घर निर्माण गरिनेछ। सम्झौताअनुसार पहिलो चरणमा आउँदो भदौ ८ गते आइतबार वडा नं. ४ निवासी प्रमिला चौधरीको घरको सिलान्यास गरिने भएको छ।
सम्झौताअनुसार गढवा गाउँपालिकामा सन २०२६ डिसेम्बर भित्र चारवटा घर निर्माण सम्पन्न गरिनेछ। ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको परियोजना अन्तर्गत ४ लाख २५ हजार रुपैयाँ, गढवा गाउँपालिकाको कार्यालयबाट २ लाख बराबरको सामग्री सहयोग, र घरमुलीको जनश्रमदान गरी ६ लाख ७८ हजार बराबरको लागतमा “एल आकारको घर” निर्माण गरिने केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो।
त्यसैगरी, परियोजनामार्फत गढवा गाउँपालिकाभित्रका १ सय ३० परिवारलाई लालपुर्जा प्राप्तिका लागि आवश्यक प्रक्रियाबारे साक्षरता अभिमुखी कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ। सो कार्यक्रम गढवा, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकामा सञ्चालन गर्ने तयारी भएको पनि अध्यक्ष चौधरीले बताउनुभयो।
घर निर्माण हुन लागेकी प्रमिला चौधरी एकल महिला हुनुहुन्छ। छोरीको पढाइ खर्च जुटाउन उहाँ मजदुरी गर्दै आउनुभएको छ। मजदुरीबाहेक अन्य आयस्रोत नभएकोले यो घर निर्माणले आफ्नो जीवनमा ठूलो राहत हुने उहाँले बताउनुभयो। यस्तै, गढवा गाउँपालिका वडा नं. ५ कक्रहवाकी जि.वि. बिकको पनि आवास निर्माण हुने भएको छ। माइतीले दिएको एलानी जमिनमा झुप्रो घरमा बस्दै आउनुभएकी बिकले अहिलेसम्म लालपुर्जा प्राप्त गर्न नसकेको बताउनुभयो। वर्षातको समयमा पानी चुहिएर रातभर सुत्न नसक्ने र सर्प लगायतको डर हुने गरेको उहाँले दुःखेसो पोख्नुभयो।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले असहाय, विपन्न र एकल महिलाका लागि आवास निर्माणलाई गाउँपालिकाको महत्वपूर्ण सामाजिक उत्तरदायित्वको रूपमा लिइएको बताउनुभयो। उहाँले भन्नुभयो– “गाउँपालिकामा धेरै नागरिक अझैसम्म न्यून आयस्रोतका कारण उचित आवासमा बस्न सकिरहेका छैनन्। विपन्न वर्गका नागरिकलाई सुरक्षित घर उपलब्ध गराउनु भनेको उनीहरूको जीवनस्तर उकास्नु मात्र होइन, आत्मसम्मानसहित बाँच्ने वातावरण सिर्जना गर्नु हो। यसका लागि गाउँपालिका सधैं प्रतिबद्ध रहन्छ।” अध्यक्ष पोख्रेलले थप भन्नुभयो– “यो आवास निर्माणले असहाय र एकल महिलाहरूलाई आशा दिलाउनेछ। एउटा सुरक्षित घरले बालबालिकाको पढाइमा सहजता ल्याउँछ, महिलालाई आत्मविश्वासी बनाउँछ, र गाउँमा सामाजिक न्यायको आधार बलियो बनाउँछ। यस्तो पहललाई निरन्तरता दिँदै गाउँपालिकालाई ‘सबैको घर–सुरक्षित गाउँ’ बनाउने हाम्रो लक्ष्य हो।”
सम्झौताअनुसार गढवा गाउँपालिकामा चारवटा र राजपुर गाउँपालिकामा तीनवटा गरी कुल सातवटा आवास निर्माण हुने भएका छन्।




