राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्‌को अध्यक्षमा नेपालका थापा निर्वाचित

गणतन्त्रनेपाल

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित भएका छन् । राष्ट्रसंघको इकाइहरूमध्ये महत्त्वपूर्ण मानिने आर्थिक तथा सामाजिक परिष‌द्मा नेपालको प्रतिनिधित्व गर्दै स्थायी प्रतिनिधि एवं राजदूत थापा २०२६ सम्मका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। नेपाल इकोसकको अध्यक्ष बनेको यो पहिलो पटक हो।

यसअघि २०२४-०२५ का लागि इकोसकमा थापा उपाध्यक्ष थिए। दुई वर्षअघि स्थायी प्रतिनिधिको जिम्मेवारीसहित न्यूयोर्क आएका उनी त्यसअघि बेल्जियम तथा ईयूका लागि राजदूतको भूमिकामा थिए । नेपालको अध्यक्षतामा इकोसकका उपाध्यक्षमा अल्जेरिया, आर्मेनिया, डोमिनिकन रिपब्लिक र स्पेन निर्वाचित भएका छन् ।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा विहीबार भएको बैठकमा परिषद्‌को नेतृत्वका लागि निर्वाचत प्रक्रिया भएको थियो। थापा निर्वाचित भएलगत्तै बैठकमा परिषद्‌का निवर्तमान अध्यक्ष क्यानडाका स्थायी प्रतिनिधि बब रेले ग्याभल हस्तात्त्तरण गर्दै थापालाई अध्यक्षमा पदस्थापित गरेका हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि थापाले नेपाललाई यस महत्त्वपूर्ण भूमिकाका लागि दिएको विश्वास र समर्थनप्रति सबै सदस्य राष्ट्रप्रति कृतज्ञता व्यक्त गरे। उनले नेपालका लागि यो ऐतिहासिक अवसर भएको भन्दै इकोसकको अध्यक्षता गर्नु बहुपक्षीयताप्रतिको प्रतिबद्धता र निष्पक्ष, समावेशी, न्यायपूर्ण विश्व निर्माणमा योगदान गर्ने अभिलाषाको प्रमाण भएको दावीसमेत गरे ।

अध्यक्षको कार्यभार सम्हाल्ने थापाले जलवायु संकट, आर्थिक अन्योल र गहिरिदो असमानताले बहुपक्षीय प्रणालीमाथि विश्वास घट्‌दै गएको भन्दै प्रविधिमा पनि अवसरसँगै इकोसकमा नेपालले नमुना काम गरेर विश्वलाई देखाउने चुनौतीहरू भएकाले यो बेला इकोसकको भूमिका झनै महत्त्वपूर्ण हुने बताए ।

‘इकोसकले सार्वभौमिक भविष्यका लागि परिवर्तनकारी, न्यायपूर्ण, नवप्रवर्तनशील र सम्भावित कार्यहरू तय गरिसकेको र त्यही नाराअनुसार काम गरिनेछ,’ थापाले बैठकमा भने, ‘इकोसकमा नेपालले नमुना काम गरेर विश्वमा देखाउनेछ ।´

इकोसक राष्ट्रसंघको एक प्रमुख अंग हो, जसले आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, मानवअधिकार, वातावरण, महिला सशक्तीकरण र विकासजस्ता विषयहरूमा अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्ने विभाग हो।

इकोसकले सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरू, विशेषज्ञ संस्था र नागरिक समाज (जस्तै एनजीओहरू) सँग मिलेर विश्वव्यापी विकासका लक्ष्यहरू प्राप्त गर्न नीति निर्माण, बहस, सल्लाह, अनुसन्धान तथा अनुगमनको काम गर्दछ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID