
गढवा, १६ श्रावण । गढवा गाउँपालिका वडा नं. ८ को कोइलाबास क्षेत्रमा आजदेखि सुरु भएको तरकारी तथा दूध हाटबजार पहिलो दिनमै वडाबासीहरूबीच उल्लेखनीय चासो देखिएको छ।
गढवा गाउँपालिका र भिटा परियोजनाको विशेष पहलमा सञ्चालन गरिएको यो बजार स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै, सस्तो र ताजा खाद्यान्न पहुँचमा पुर्याउने उद्देश्यले सुरु गरिएको हो।
यो हाटबजार गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था द्वारा सञ्चालनमा ल्याइएको हो, जहाँ गढवा क्षेत्रका महिला उद्यमीहरूले उत्पादन गरेका ताजा तरकारी, दूध र अन्य खाद्यवस्तुहरू बिक्रीमा राखिएका छन्।
गाउँपालिकाले जनाए अनुसार अबदेखि प्रत्येक साता दुई दिन — मंगलबार र शुक्रबार — नियमित रूपमा हाटबजार सञ्चालन हुनेछ। बजारमा विषादीरहित तरकारी, शुद्ध दूध तथा स्थानीय रूपमा उत्पादन भएका वस्तुहरू सस्तो दरमा उपलव्ध गराइने छ।
वडा नं. ८ का वडाध्यक्ष र स्थानीय जनप्रतिनिधिहरूको सक्रियता र स्थानीय सहकारी संस्थाको संयोजनमा सुरु भएको यो बजारले भारतीय सीमा नजिकका बासिन्दाहरूलाई राहत दिने विश्वास गरिएको छ। साथै, यसले महिला उद्यमशीलता, स्थानीय उत्पादनको मूल्यवृद्धि र खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
गढवा गाउँपालिकाले सम्पूर्ण वडाबासीलाई स्थानीय उत्पादन प्रयोग गरी स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने सन्देश दिएको छ।





