
गढवा, १५ श्रावण ।गढवा गाउँपालिका वडा नं. ८ को कोइलाबास क्षेत्रमा भोली श्रावण १६ गतेदेखि सहकारी तरकारी बजार संचालन गरिने भएको छ। गढवा गाउँपालिकाले सञ्चालनमा ल्याएको भिटा परियोजना अन्तर्गत भारतीय सिमा नजिकका बासिन्दालाई सस्तो, ताजा र विषादीरहित तरकारी उपलब्ध गराउने उद्देश्यले यो विशेष बजार सञ्चालनमा ल्याउन लागिएको हो।
बजारमा गढवाका विभिन्न उद्यमी महिला समूहहरूले आफ्नै उत्पादन गरेका ताजा तरकारीहरू भारतीय बजारको तुलनामा कम मूल्यमा बिक्रीमा राखिनेछन्। बिहान ८ बजेबाट सुरु हुने उक्त बजार कोइलाबास भन्सार अगाडि सञ्चालन गरिने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो।
गाउँपालिकाका अनुसार पछिल्लो समय भारतीय बजारमा तरकारीको मूल्य अत्यधिक बढेको सन्दर्भमा कोइलाबास क्षेत्रका जनताहरूलाई राहत दिने लक्ष्य लिइएको छ। साथै, बजारमा बिक्री हुने सम्पूर्ण तरकारीहरू विषादीरहित, स्वदेशी र स्थानीय उत्पादन हुने भएकाले स्वास्थ्यका दृष्टिकोणले पनि सुरक्षित रहनेछन्।
गढवा गाउँपालिकाका वडा नं. ८ का जनप्रतिनिधिहरूले स्थानिय नागरिकलाई स्वदेशी उत्पादनको प्रवर्द्धनमा जोड दिनुका साथै सस्तो, स्वच्छ र पोषणयुक्त तरकारी प्रयोग गर्न आग्रह गरेका छन्।
कोइलाबास भन्सार अगाडि बजार सञ्चालन गरी तरकारी बिक्री गरिने छ।
स्थानियवासीहरूलाई सहुलियत दिने उद्देश्यले संचालन गरिने यस तरकारी बजारमा सहभागी भई स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन गढवा गाउँपालिका सबैमा अनुरोध गर्दछ।




