बालबालिकोहरूको पर्व : गुरही

छविलाल कोपिला

१. भूमिका

संस्कृति हरेक समुदायको आफ्नो मौलिक पहिचान हो । कुनै पनि जातिको जातीय पहिचान कला, संस्स्कृति र भाषासंग जोडिएको हुन्छ । थारू समुदायमा पनि यस्ता धेरै संस्कृतिहरू रहेको छन् । जुन अहिले प्रायः लोप हुने अवस्थामा छन् । केही रूपमा भएपनि ती संस्कृतिहरू बाह्य संस्कृतिको प्रभावमा मौलिकता माथि पनि प्रश्न उठिरहेको छ । यस्तै धेरै कुरा थारू समुदायका द्विविधा रही आ–आफ्नै किसिमको तर्क वितर्कले समाज भित्रै अन्यौलको स्थिति सिर्जना भएको यथार्थ पनि हामीसँग छ । त्यस मध्ये थारू समुदायको एक महत्वपूर्ण बालपर्व ‘गुरही’ ।

थारू समुदाय प्रकृति पुजक अथवा प्राकृत धर्म समूह भित्रको एक जाति हो । प्रकृतिप्रति विश्वास गर्ने समुदाय भएकोले प्राकृत धर्म नै थारू जाति हो प्राचीन धर्म हो भन्ने कुरा धेरै इतिहासकारले उल्लेख गरेका छन् । तर पछिल्लो समयमा हिन्दू धर्मको प्रभावले आफूहरू हिन्दू भएको दावी गर्नेहरूको संख्या पनि छ । त्यसकारण कतिपय हिन्दू धर्मका पौराणिक मान्यताहरू पनि अनुसरण गरेको पाइन्छ । मिश्रित बसाईका कारण पनि एक अर्काका धर्म, आस्था र संस्कृतिप्रति सद्भाव तथा समान व्यवहारका कारण अन्य समुदायका सांस्कृतिक प्रभावले कतिपय संस्कृतिहरू थारू समुदायको लागि मौलिक भइसकेको छ ।

२. के हो गुरही पर्व ?

‘गुरही’ थारू समुदायको एक बाल पर्व हो । यो पहिले आम थारू समुदायको चाड थिएन । एउटा निश्चितक्षेत्रबाट विकसित हुँदैन अहिले आम थारू समुदायको पहिचानको रूपमा स्थापित हुँदैछ । यसको उद्गमथलो दाङको देउखुरी मानिएकोछ । पछि देउखुरीबाट छारा (बसाइ–सराइ) गरेर बुर्हान गएकाहरूले पनि गुरही पर्व आफू बसेको ठाउँमा मनाइरहेको पाइन्छ । अहिले देउखुरी लगायत बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं र विदेशमा समेत मनाउन थालिएकोछ र यसको सीमासाँध तोडिएको छ । यो आम थारू समुदायको पर्वको रूपमा स्थापित भइसकेकोछ । त्यसो त दाङकै दाङ उपत्यका (घोराही–तुलसीपुरक्षेत्र) का थारू समुदायमा यो पर्व मनाइँदैन र त्यसक्षेत्रमा बसोवास गर्ने अधिकांश थारू र त्यहाँबाट छारा गरेर गएकाहरूलाई यो पर्व बारे अहिले पनि जानकारी छैन । पछिल्लो समय संचार माध्यम र काठमाडौं लगायत विभिन्न शहरमा गरिने गुरही बिशेष कार्यक्रमले भने यसले व्यापकता पाइरहेकोछ ।

यसलाई धेरैले लुटो फाल्ने पर्वको रूपमा पनि लिन्छन् । यो पर्व साउन महिनाको शुक्लपक्षको पञ्चमीको दिन पर्दछ । यसैदिन हिन्दूहरूको नामपञ्चमी पनि पर्छ । त्यसकारणले ‘गुरही’ र नाग पञ्चमी एउटै हो भन्ने धेरैको बुझाई रहेको छ । तर यो संयोग मात्रै हो वास्तविकता होइन । थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै सामाजिक मूल्य र मान्यता छ भने नागपञ्चमीको आफ्नै छ । नागपञ्चमीमा सर्प र बिषालु किराहरूको पूजा गरिन्छ तर गुरहीमा न सर्पको पूजा हुन्छ न बिषालु बिच्छी, गोजरको । यस पर्वको मूल्य मान्यता र लोक बुझाईहरू पनि अलग अलग भएकोले यो भिन्न भिन्नै पर्व हो भन्ने कुरा बुझ्न जरुरी छ ।

३. गुरही कि गुरिया ?

गुरही पर्वप्रति थारू समुदायको आकर्षण बढेसँगै केही कुरामा द्विबिधा उत्पन्न हुँदै आएको छ । त्यसमध्य यस पर्वको वास्तविक नाम गुरही हो गुरिया भनेर प्रत्येक वर्ष कुरा उठ्ने गरेको छ । यो खासमा भाषागत बुझाइबाट उत्पन्न समस्या हो । गुरही शब्दको प्रयोग र बुझाइ यस पर्वबाट ३ तरिकाले बुझ्न सकिन्छ । १. देवीको रूपमा गुरही, २. कपडाको खेलौना गुरही र ३. किराको रूपमा गुरही ।

३.१. देवीको रूपमा गुरही :– यस पर्वसँग जोडिएको मिथकीय कथा अनुसार एक बालिका पात्रको रूप गरही स्थापित गरिएको छ । जसले सिंगोकथा नेतृत्व गर्दछ । उनी देवीको रूपमा उभिएर समुदायमा फैलिएको रोग–व्याधिको निबारण गर्दछिन् । जसले गर्दा पृथ्वीलोकमा फैलिएको महामारीको अन्त्य हुन्छ । मानव समुदायमा शान्ति मिल्छ ।

३.२. कपडाको खेलौना गुरही :– बालबालिकाहरूका लागि कपडाले बनाएका खेलौनालाई थारू भाषामा गुरही भनिन्छ । जसलाई नेपालीमा पुतला–पुतली भनिन्छ भने अवधी, मैथली, भाजपुरी, हिन्दी लगायत मधेशी समुदायको प्रयोगको भाषामा गुडिया भनिन्छ ।

३.३. किराको रूपमा गुरही :– ‘गुरही’ पर्व एक ‘गुरही’ नामको किरासँग जाडिएको छ । गुरही नेपाली भाषामा गाइने–किरा, धोबी–किरा, झिगौरा जस्ता ठाउँ बिशेष नामले चिनिन्छन् भने अंग्रेजीमा ड्राइगन फ्लाइ भनेर चिनिन्छन् । गुरही एक उड्ने किरा भएकोले यसले मच्छर, भुस्ना लगायत शुक्ष्म किराहरूलाई खाने गर्छन् । यिनीहरूको संरक्षणले मच्छर (लामखुट्टे) र भुस्ना लगायत किराहरूको कमी हुने र रोगव्याधी कम लाग्ने बैज्ञानिक धारणा छ ।

अब यहाँ केही स्थानमा गुरही पर्वलाई गुरिया भनेको पनि पाइन्छ । यसको खास कारण कपडाबाट खेलौना गुरहीलाई मधेशतिर बोलिने अवधी, भोजपुरी मैथली, हिन्दी लगायतका भाषामा गुडिया भनिन्छ । गुडिया शब्दको शुद्ध उच्चारण थारू भाषामा हुँदैन, गुडियालाई गुरिया उच्चारण हुन्छ । गुरिया नै गडिया हो भन्ने कुरामा दुइमत छैन । तर जब गुरिया शब्दलाई थारू भाषामा रुपान्तरण गर्दा यसको अलग अर्थ लाग्छ । थारू भाषामा गुरियाको अर्थ माला अर्थात, महिलाले लगाउने पोते भन्ने बुझाउँछ । र अर्को अर्थमा गुरिया भनेको मानव शरीरको करङ जोर्ने अस्थिपञ्जरको मालालाई पनि गुरिया भनिन्छ । यसरी हेर्दा गुरही पर्वसँग महिलाले लगाउने पोते (गुरिया) र अस्थिपञ्जरको माला (गुरिया) को कुनै साइनो भेटिदैन । गुरिया गैरथारू भाषीहरूले आफू अनुकुलको भाषा प्रयोग गर्दा त्यसको प्रभाव थारू समुदायको परेर गुरहीलाई गुरिया भन्ने बुझिएको हो र यसकै प्रभावमा अथवा अरुले बोलेको सुनेर अभ्यासमा आएको हुनसक्छ । त्यसकारण यो पर्व गुरिया नभएर गुरही हो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID