
गढवा, ३० असार । गढवा गाउँपालिकामा आगामी असार ३२ गते बुधबारका दिन वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन हुने भएको छ।
सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले यो कार्यक्रम आयोजना गर्न लागेको हो।
गढवा गाउँपालिका कार्यालयद्वारा जारी सूचनाअनुसार कार्यक्रम गढवा गाउँपालिका–६ स्थित पालिकाको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू, सम्बन्धित शाखा प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, सुरक्षा निकाय, विभिन्न महासंघका प्रमुख तथा प्रतिनिधि, शिक्षक , स्वास्थ्यकर्मी, सामुदायिक वनका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, युवा तथा महिला प्रतिनिधि लगायत सबै सरोकारवाला पक्षहरूको सहभागिताका लागि पत्र मार्फत सहभागीताको लागि अनुरोध समेत गरेको छ।
गाउँपालिकाले सार्वजनिक सुनुवाइलाई प्रभावकारी तथा सफल बनाउन सम्पूर्ण नागरिकहरूलाई कार्यक्रममा उपस्थित भई आफ्ना सुझाव, गुनासो तथा सल्लाहहरू खुला रूपमा प्रस्तुत गर्न आग्रह गरेको छ।





