
गढवा, २२ असार – “आर्थिक सहयोगको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ गढवा गाउँपालिकामा गरिबी निवारणको उद्देश्यले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
गढवा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत सीपमूलक तथा आयआर्जन कार्यक्रम अन्तर्गत हाते कागजका तयारी वस्तु तथा खाद्य प्रशोधन कार्यक्रममार्फत आइतबार अदुवा तथा बेसार प्रशोधनसम्बन्धी प्रविधिहरू हस्तान्तरण गरिएको हो।
कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा सामाजिक उद्यमी महिला सहकारीका सदस्यहरूलाई सहकारीमार्फत व्यवसायिक रूपमा क्रियाशील हुनका लागि आवश्यक प्रविधिहरू—जसमा पिस्ने मेसिन, बोक्रा छिल्ने मेसिन, धुने मेसिन र धुलो बनाउने विद्युतीय मेसिन रहेका छन्—हस्तान्तरण गर्नुभयो।
अध्यक्ष पोख्रेलले प्रविधिको सही सदुपयोग गरी महिला दिदीबहिनीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भयो। तालिमसहित प्रविधि दिँदा पनि यदि व्यवसाय अगाडि नबढाइएमा पालिकाले थप केही गर्न नसक्ने प्रस्ट पार्नुभयो।
कार्यक्रममा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले कार्यक्रमको पृष्ठभूमि र उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन उद्यम विकास शाखाकी सहजकर्ता बिनु भुजेलले गर्नुभएको थियो।
गढवा गाउँपालिकाले विनियोजित बजेटमार्फत प्रविधिहरू खरिद गरी वितरण गरेको हो, जसको लक्ष्य स्थानीय महिला उद्यमीहरूलाई सशक्त बनाउँदै स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्नु हो।




