
गढवा, १९ असार। गढवा गाउँपालिकाले महिला तथा बालबालिका शाखामार्फत बिहीवार एक दिवसीय पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखा प्रमुखहरू तथा सरोकारवाला निकायहरूबीच छलफल गरी आगामी कार्ययोजना तय गरिएको हो।
कार्यक्रम अन्तर्गत शिक्षा शाखामार्फत वाल विकास केन्द्रका शिक्षकहरूलाई बालबालिकामा देखिने कुपोषणका प्रकारहरू, यसको असर र समाधानका उपायबारे जानकारी प्रदान गरिएको थियो। यसैगरी, महिला तथा बालबालिका शाखामार्फत जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा सरोकारवालालाई पोषणमैत्री अवधारणामा आधारित अभिमुखीकरण गराइएको हो।
कार्यक्रममा सहभागीहरूले गढवा गाउँपालिकालाई २०८४ सालसम्म पोषणमैत्री पालिका घोषणा गर्ने लक्ष्यसहित प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन्।
कुपोषणले बालबालिकाको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकासमा गम्भीर असर पार्ने भएकाले कुनैपनि बालबालिकामा कुपोषणका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुर्याई आवश्यक उपचार तथा सरकारद्वारा प्रदान गरिने पोषण सेवा–सुविधा लिन अभिभावकहरूलाई आग्रह गरिएको छ।
कार्यक्रममा स्वास्थ्यकर्मी सूर्यनारायण यादव र रोहित चौधरीले पोषणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।





