
गढवा, १९ असार। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वय र सहकार्यमा डेंगु महामारी नियन्त्रणका लागि पालिका स्तरीय बहस, पैरबी, खोज तथा नष्ट अभियानसम्बन्धी कार्यशाला कार्यक्रम बिहीवार गढवामा सम्पन्न भएको छ।
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख उज्ज्वल कुमार पौडेलको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यशालामा डेंगु रोग पोथी लामखुट्टेको टोकाइबाट फैलिने भएकाले घर, विद्यालय, कार्यालय, बजार, गाडी मर्मत केन्द्र, कवाडी पसलजस्ता स्थानमा पानी जम्न नदिन विशेष आग्रह गरिएको थियो। साथै, भाले लामखुट्टेले मानिसलाई नटोक्ने र सफा पानीमा पोथी लामखुट्टेले अण्डा र लार्भा हुर्काउने भएकाले नागरिकलाई घर वरपरको वातावरण सरसफाइमा सचेत रहन अनुरोध गरिएको थियो।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले डेंगु रोगको चार चरण, संक्रमणका लक्षण तथा जोखिमबारे विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार, डेंगु रोग लागेपछि टाउको दुख्ने, आँखाको गेडी पछाडि दुख्ने, शरिर दुख्ने, राता बिबिरा आउनेजस्ता लक्षण देखापर्छन्। एकपटक डेंगु भइसकेको व्यक्तिलाई फेरि अर्कोपटक लागेमा स्थिति गम्भीर बन्न सक्ने खतरा रहेको उहाँले जानकारी दिनुभयो।
डेंगु रोगको कुनै प्रत्यक्ष उपचार नभएको हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि प्रयोग गर्ने र लक्षणअनुसार उपचार गर्ने वैकल्पिक उपाय अपनाउनुपर्ने जानकारी दिइएको थियो।
कार्यशालामा जनप्रतिनिधि, विद्यालय शिक्षक, विषयगत शाखा प्रमुखहरू, संघसंस्था, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमपछि गाउँपालिकाभित्रका सम्भावित जोखिम क्षेत्रहरूमा लार्भा र अण्डा खोज्न फिल्ड भिजिट समेत गरिएको थियो।
कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय दाङका शरद कुमार घिमिरेले गर्नुभएको थियो।





