गढवामा लागूपदार्थ, बालविवाह र सामाजिक सञ्जालबारे सचेतना कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,१३ असार। लागू औषध दुरुपयोग एवं ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अभिभावक र विद्यार्थीसँग बालविवाह न्यूनीकरण लागू पदार्थ दुर्वेसन र सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा गढवा गाउँपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबरडियामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बालविवाह, लागूपदार्थको दुरुपयोग र सामाजिक सञ्जालको गलत प्रयोगले हालको पुस्ताको भविष्यमा गम्भीर असर पार्ने हुँदा यस्ता विषयमा विद्यार्थी, अभिभावक र सम्पूर्ण समाज सजग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले लागू औषध दुर्व्यसन युवाहरूको शारीरिक, मानसिक र सामाजिक जीवनलाई तहसनहस पार्ने खतरा भएको उल्लेख गर्दै विद्यालयस्तरबाटै सचेतना फैलाउनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो। बालविवाह जस्ता सामाजिक कुरीति अन्त्यका लागि परिवार, विद्यालय र समुदायले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सञ्जालको प्रयोग सकारात्मक दिशातर्फ मोडिनुपर्नेमा जोड दिनुभयो। गाउँपालिकाले यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

कार्यक्रमकी विशिष्ट अतिथि गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले आजको युवापुस्ता अनेकन सामाजिक चुनौतीको सामना गरिरहेको बताउँदै बालविवाह, लागूपदार्थको दुर्व्यसन तथा सामाजिक सञ्जालको दुरुपयोगबाट उनीहरूलाई जोगाउन अभिभावक, शिक्षक र स्थानीय सरकारको भूमिकालाई अझ सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले बालबालिकालाई उमेरअनुसारको शिक्षा, परामर्श र सकारात्मक वातावरण उपलब्ध गराउने हो भने उनीहरू स्वतः सही बाटोमा हिँड्ने विश्वास व्यक्त गर्नुभयो। साथै, महिलाहरू र आमाबाबुको भूमिका यस्ता नकारात्मक अभ्यास रोक्न अत्यन्तै महत्वपूर्ण हुने भन्दै उहाँले समुदायस्तरमै सचेतना अभिवृद्धि गरिने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरू र अभिभावक सहितसँग बालविवाह न्यूनीकरण लागु पदार्थ दुर्व्यसन,सामाजिक सञ्जालको सुरक्षित प्रयोग लगायत विभिन्न विषयवस्तुको बारेमा सहजीकरण गरिएको थियो ।

प्रशिक्षकमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बम र कमल गौतम रहनुभएको थियो।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बमले अभिभावक तथा विद्यार्थीहरूसँग लागू औषध र दुरुपयोग एवं ओसारपसार विरुद्ध संग सम्बन्धित प्रचलित कानुन सजाय र बच्ने उपायहरु लगायतको बारेमा छलफलको माध्यमबाट जानकारी दिनुभएको थियो।

त्यसैगरी कार्यक्रममा कमल गौतमले बालविवाह न्यूनीकरण लागू पदार्थ सामाजिक सञ्जालको सुरक्षित प्रयोगको बारेमा जानकारी दिनुभएको थियो। साथै सचेतनामूलक कार्यक्रममा सहभागीहरूको तर्फबाट उठेका प्रश्नहरूको जवाफ समेत दिनुभएको थियो।

कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष चित्रबहादुर राउत क्षेत्री, विद्यालयका प्रधान अध्यापक सूर्यप्रकाश वर्मा, कार्यपालिका सदस्य चन्द्रा केसी ,वडा सदस्यहरू तथा विद्यालयका शिक्षक शिक्षिका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID