बटुवालाई निःशुल्क खाना खुवाउनु जय महाकाल युवा समूहको प्रेरणादायी कार्य

सविन प्रियासन

दाङ,११ असार । समाजमा सकारात्मक परिवर्तन ल्याउन सरकारी संयन्त्र मात्र होइन, नागरिक समाजको सक्रियता पनि अत्यन्त जरुरी हुन्छ । कुनै समुदायमा जब नागरिकहरू स्वयं समस्याको पहिचान गर्छन् र समाधानको प्रयासमा जुट्छन्, त्यही बेला त्यो समाज वास्तवमै समृद्धिको दिशामा अघि बढ्छ । यसै सन्दर्भमा, घोराही नगरको गुमराहा चोकमा जय महाकाल युवा समूहद्वारा सञ्चालनमा रहेको निःशुल्क खाना वितरण कार्यक्रम एक अत्यन्तै प्रेरणादायी प्रयास बनेको छ । विगत ९ दिनदेखि जय महाकाल युवा समूहले दैनिकरूपमा बिहान र साँझ गरी दुई छाक निःशुल्क खाना तथा पानी वितरण गर्दै आइरहेको छ । खासगरी विपन्न, असाहाय, बेरोजगार, वृद्धवृद्धा तथा सडकमा अलपत्र परेकाहरुलाई लक्षित गरी गरिएको यो कार्यले समाजमा मानवीयता, करुणा र सहयोगभावनाको उज्वल उदाहरण प्रस्तुत गरेको छ । दिनहुँ ७० जनाभन्दा बढी व्यक्तिहरु यस सेवाबाट लाभान्वित भइरहेका छन्, जुन आफैँमा उल्लेखनीय र स्तुत्य कार्य हो ।

यस समूहको प्रयास केवल खाना खुवाउनेमा सीमित छैन, यसले समग्र समाजलाई सेवा र समर्पणको महत्त्व सिकाउने काम पनि गरिरहेको छ। देशमा बढ्दो गरिबी, बेरोजगारी र असमानताको सन्दर्भमा यस्ता सेवा कार्यक्रमहरुले सामाजिक न्यायको पक्षमा जनचेतना जगाउने काम पनि गर्छन् । यो कार्यले ‘जहाँ राज्यको पहुँच पुग्दैन, त्यहाँ समाज आफैं उठ्न सक्छ’ भन्ने भावना बलियो बनाएको छ । समूहको यस सेवाभावनाले स्थानीय समुदायमा समेत सकारात्मक तरंग पैदा गरेको छ। दैनिक रूपमा व्यक्तिहरु महाकाल समूहलाई खाद्यान्न, नगद तथा स्वेच्छिक सेवा प्रदान गर्दै सहभागी भइरहेका छन् । यसले देखाउँछ कि नेपाली समाजमा अझै पनि एकआपसमा साथ दिने र दुःखमा सहारा बन्ने संस्कार जीवित छ । जुनसुकै धर्म, जात, वर्ग वा पार्टीको भए पनि मानिसहरु यस्तो मानवसेवामूलक कार्यमा स्वतः प्रेरित भएर हातेमालो गरिरहेका छन् । महाकाल समूहको नेतृत्व, व्यवस्थापन र संयोजन क्षमता पनि प्रशंसायोग्य छ। नियमित रूपमा खाना पकाउने, वितरण गर्ने, सफाइ कायम गर्ने र अनुशासनमा रहन सिकाउने जस्ता कार्यहरुले यो समूहको कार्यकुशलता र दिगो सामाजिक सोच झल्काउँछ । यसले भविष्यमा अन्य सामाजिक कामहरुका लागि पनि महाकाल समूहलाई एक सक्षम संगठनको रूपमा प्रस्तुत गर्न सक्छ ।

सामाजिक सेवा केवल ठूला शब्द र घोषणाबाट होइन, साना तर प्रभावकारी क्रियाकलापबाट पनि सुरू गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ – जय महाकाल युवा समूह । यो अभियानले अन्य युवा समूह, विद्यार्थी, क्लब तथा संघसंस्थालाई पनि समाजसेवामुखी काममा लाग्ने प्रेरणा दिएको छ । सेवा गर्नेलाई सहयोग गर्नेलाई पनि धन्यवाद दिनु पर्दछ, जसले यो अभियानलाई जीवन्त बनाइरहेका छन् । यस्ता कार्यको दीर्घकालीन प्रभावका लागि स्थानीय सरकार, समुदाय र निजी क्षेत्रबीचको सहकार्य आवश्यक हुन्छ । यदि यस्ता जनसेवामूलक कार्यक्रमलाई नगरपालिकाले नीति तथा कार्यक्रममार्फत सहयोग गर्ने हो भने, अझ प्रभावकारी ढंगले विस्तार गर्न सकिन्छ । खाना खुवाउने मात्र नभई, निःशुल्क स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, तथा पुनःस्थापना कार्यक्रमहरुसमेत थप्न सकिने सम्भावना छ । जय महाकाल युवा समूहको निःशुल्क खाना वितरण कार्यक्रम केवल पेट भर्ने कार्य होइन, यो जीवनप्रति आशा जगाउने, समाजमा प्रेम र सहानुभूति फैलाउने र मानवता बचाइराख्ने अभियान हो । यस्ता प्रयासलाई प्रोत्साहन गर्न, संरक्षण गर्न र फैलाउन हामी सबैको भूमिका रहन्छ। घोराहीको गुमराहा चोकमा शुरु भएको यस सामाजिक दीपले अन्य धेरै ठाउँलाई उज्यालो दिने अपेक्षा गरौँ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID