करेसाबारीबाट नयाँ विषय सिकाई रहनु भएका पूर्व शिक्षक रामहरि रिजाल !

सविन प्रियासन

दाङ,२४ जेठ। घरमै सानोतिनो तरकारी तथा फलफूलको खेती गर्नु धेरैका लागि नयाँ कुरा होइन । तर, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ६५ वर्षीय पूर्व शिक्षक रामहरि रिजालको जस्तो लगनशीलता र नतिजा पक्कै पनि सबैका लागि प्रेरणादायी छ ।

उहाँले घरकै करेसाबारीमा विभिन्न जातका तरकारी, फलफूल र लोपोन्मुख बिरुवा खेती गर्दै राम्रो आम्दानी लिनुभएको छ । शिक्षण पेशाबाट अबकास पाएपछि खाली समयलाई अर्थोपार्जनसँगै सिर्जनात्मक बनाउनुभएको यो प्रयासले हामीलाई केही महत्वपूर्ण पाठ सिकाउँछ – विशेषगरी कसरी थोरै जग्गा र सीमित स्रोतको उपयोग गरेर आत्मनिर्भरता हासिल गर्ने भन्ने सवालमा ।

शहर बजारमा धेरैजसो मानिसको ध्यान कृषि भन्दा पर अन्य व्यवसायमा केन्द्रित भएको पाइन्छ । तर, जनसंख्याको घनत्वका कारण शहरको माग भने कृषि उत्पादनको सन्दर्भमा उच्च छ । यस्तैमा, यदि प्रत्येक घरको करेसाबारी, कौसी, वा खाली जमिनलाई उत्पादनशील बनाउन सकियो भने, सानो प्रयत्नले पनि ठूलो नतिजा दिन सक्छ । रामहरि रिजालको सफल उदाहरणले देखाउँछ – खेतीपाती केवल गाउँमै सीमित हुने विषय होइन, शहरको घरमै पनि सम्भव छ । फलस्वरूप, सहरमा घरमै कृषि सम्भावनालाई प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकता हो ।

सबभन्दा पहिला मानसिकता र सोचको परिवर्तन जरुरी छ । घरको सानो ठाउँको महत्व नबुझेर खाली राख्ने प्रवृत्ति अझै पनि धेरैमा देखिन्छ । यो सोच त्यागेर खेतीलाई करेसाबारी, कौसी बगैँचा वा झ्यालछेउ बगैँचामा परिणत गर्नुपर्छ । सुरुमा थोरै मात्रामा सजिलो तरकारी – जस्तै टमाटर, धनियाँ, प्याज, साग – बाट सुरु गर्न सकिन्छ । रामहरि रिजालले पनि यस्तो नै गर्नुभएको थियो । सानो कामको परिणाम राम्रो देखिएपछि क्रमशः विविधता थप्दै जान सकिन्छ । त्यसपछि प्राविधिक ज्ञान र सीप सिक्नुपर्छ । सहरका स्थानीय सरकार, कृषि प्राविधिक, र विभिन्न सहकारी संस्थाले साना किसानलाई तालिम, बीउ वितरण, प्राविधिक सहयोग आदि दिन्छन् । यस्तो सहयोग लिन नहिचकिचाई खेती व्यवस्थित बनाउनुपर्छ । रामहरि रिजालजस्तै जागरुक कृषकका लागि यस्ता सहयोगले झन् ठूलो फाइदा दिन सक्छ । अर्को महत्वपूर्ण कुरा बजार व्यवस्थापन हो ।

शहरमा माग धेरै छ – ताजा तरकारी र फलफूलको विशेषगरी । घरमै उत्पादन भएकाले उपभोक्तालाई पनि भरोसा हुन्छ – विषादीको डर छैन, ताजा छ, सहज पाउँछौं भन्ने विश्वासले उपभोक्तालाई आकर्षित गर्छ । फलस्वरूप, सिधा उपभोक्तासम्म पु¥याउन सक्ने सञ्जाल बनाउनुपर्छ – उदाहरणका लागि, छिमेकमै प्रत्यक्ष बिक्री, वा साना किसान बजार वा फार्मर मार्केट जस्ता थलोको प्रयोग । यद्यपि, यसमा केही चुनौती पनि छन् । घरमै सीमित ठाउँमा धेरै उत्पादन लिन सजिलो हुँदैन । प्राविधिक ज्ञान र समयको पनि खाँचो हुन्छ । यस्ता चुनौतीलाई व्यवस्थापन गर्न रामहरि रिजालजस्तै उदाहरणले देखाउँछ – योजनाबद्ध तरिकाले, आवश्यक सल्लाह र सहयोग लिएर र निरन्तर अभ्यास गरेर चुनौतीलाई अवसरमा बदल्न सकिन्छ । लोपोन्मुख बिरुवा र फलफूलको खेती थप महत्त्वपूर्ण पक्ष हो ।

यस्तो खेतीले जैविक विविधता जोगाउन मद्दत पु¥याउँछ । दाङजस्तो समृद्ध कृषि क्षेत्रका लागि यो अझै बढी अर्थपूर्ण छ – जहाँ जैविक सम्पदा संरक्षणसँगै स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सकिन्छ । शहरको घरमै कृषि उत्पादनको अर्को फाइदा भनेको घरको खर्च घटाउनु हो । बजारको महँगो तरकारी र फलफूल किन्नुभन्दा आफ्नै करेसाबारीको उत्पादन उपभोग गर्दा खर्च घट्छ र स्वास्थ्यमा समेत फाइदा पुग्छ । साथै, परिवारका सदस्यहरूबीचको सहकार्य र जीवनशैलीमा पनि सकारात्मक प्रभाव पर्छ – यस्तो काममा बालबालिका, युवा र वृद्ध सबैलाई सहभागी गराउन सकिन्छ ।

सरकारको नीतिगत सहयोगको पनि महत्व छ । स्थानीय तहले करेसाबारी तथा कौसी खेतीलाई प्रोत्साहन गर्न अनुदान, बीउबिजन वितरण र तालिमजस्ता कार्यक्रम ल्याउनुपर्छ । कृषि सल्लाहकारको नियमित परामर्श र सहुलियतपूर्ण ऋण, उत्पादनमा आधारित अनुदान, प्रोत्साहनमा आधारित अनुदानको व्यवस्थाले पनि यस्तो पहललाई थप सबल बनाउँछ । त्यसैले, शहर बजारको घरमै तरकारी र फलफूल खेती केवल रमाइलो वा शौकको विषय नभई व्यावसायिक अवसरको रूपमा पनि लिन सकिन्छ । रामहरि रिजालजस्तै प्रेरक कृषकले देखाएका छन् – थोरै जग्गा, थोरै लगानी र राम्रो व्यवस्थापनले पनि राम्रो नतिजा दिन्छ ।

यो नै सहरमा आत्मनिर्भर उत्पादन र दिगो विकासको मार्ग हो । घरमै गरेको यस्तो उत्पादनबाट थोरै आम्दानी मात्रै होइन, सहरको वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र समाजमा उदाहरणीय सन्देश प्रवाह हुन्छ । दाङका रामहरि रिजालजस्ता अग्रगामी व्यक्तिहरूले देखाएको बाटो हामी सबैका लागि सिकाइको विषय हो । खेती केवल गाउँको कुरा होइन, सहरमा पनि यो सम्भव छ र आवश्यक पनि छ ।

यसलाई प्रोत्साहन गर्ने नीतिगत र सामाजिक पहलले मात्रै सहर बजारको घरमै तरकारी र फलफूल खेतीलाई व्यवसायीक अनि सफल बनाउन सकिन्छ । सहरका हरेक घरले यो अवधारणा अंगाल्न सके, हाम्रो शहरहरू स्वच्छ, हरित र आत्मनिर्भर बन्छन् – यही हो दिगो विकासको बलियो आधार । पूर्व शिक्षक रामहरि रिजालले जसरी आफ्नो करेसाबारीबाट नयाँ सन्देश दिई रहनु भएको छ, यो सबैका लागि प्रेरणा अनि आवश्यकताको विषय हो ।

मा प्रकाशित