गढवामा असार ३ देखि १२ सम्म व्यापारिक मेला सञ्चालन हुने

स्थानीय उत्पादन, पर्यटन र व्यवसाय प्रवर्द्धनलाई प्राथमिकता

आलोक भावुक

गढवा, २४ जेठ । गढवा उद्योग वाणिज्य संघले असार ३ गतेदेखि १२ गतेसम्म गढवाको खेल मैदानमा प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ आयोजना गर्ने भएको छ। संघले शनिबार पत्रकार सम्मेलन गरी मेलासम्बन्धी जानकारी दिएको हो।

“स्थानीय उत्पादन, समृद्ध पालिका उद्योग, पर्यटन र व्यवसायी: समृद्धिको मेरुदण्ड” भन्ने मूल नाराका साथ आयोजना हुने मेलामा झन्डै १०० भन्दा बढी स्टलहरू रहने संघका अध्यक्ष ओमप्रकाश बसेलले जानकारी दिए। मेलामा गढवा र राजपुर क्षेत्रका कृषि उत्पादन, पशुपालन, सिपमूलक सामग्री, माटोको भाँडा, गड्यौला मल लगायतका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ।

मेलामा रोजगारी सिर्जना, पर्यटकीय प्रवर्द्धन र भारतसम्म बजार विस्तार गर्ने उद्देश्य राखिएको छ। कोइलाबास नाकाबाट भारत भित्रिने पर्यटकलाई लक्षित गरी प्रचार सामग्री वितरण गरिने र भारतीय व्यापार मण्डलसँग सहकार्य गरिने संघले जनाएको छ।

मेलाको सुरक्षाका लागि इलाका प्रहरी, नगर प्रहरी, युवा स्वयंसेवक तथा निजी सुरक्षा गार्ड परिचालन गरिनेछ। साथै, सीसी क्यामेरा, प्राथमिक स्वास्थ्य सेवा केन्द्र र एम्बुलेन्सको व्यवस्था पनि गरिने भएको छ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, झाँकी प्रतियोगिता, नवप्रतिभाका लागि गढवा आइडलजस्ता कार्यक्रमहरू समावेश गरिने छन्। पत्रकार, सुरक्षाकर्मी र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने स्थानीय उत्पादन प्रवर्द्धनका लागि निःशुल्क स्टल समेत उपलब्ध गराइने आयोजक गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो।

मेलाबाट प्राप्त मुनाफाबाट व्यवसायिक सुरक्षा कोष स्थापना, बजार क्षेत्रमा सीसी क्यामेरा, सडक बत्ती, डस्टबिन वितरण र पर्यटकीय स्थल प्रवर्द्धनका लागि होर्डिङ बोर्ड राखिने संघले जनाएको छ।

संघले मेलालाई व्यवस्थित र भव्य बनाउने लक्ष्यसहित विभिन्न उपसमिति गठन गरिसकेको छ भने प्रायोजक संकलन, व्यवस्थापन र समन्वय कार्य तीव्र पारिएको शनिबार गढवा उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID