
गढवा, २१ जेठ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिया स्थित सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोबडियामा राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पोषिलो खाना प्रदर्शन तथा अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा पोषिलो खाना प्रदर्शन तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्देश्य विद्यालयस्तरमै विद्यार्थीहरूलाई सन्तुलित र पोषिलो खानाको महत्त्वबारे जानकारी गराउनु रहेको थियो। कार्यक्रममा पोषिलो खाना कसरी तयार गर्ने, कुन–कुन खानेकुराले पोषण दिन्छ भन्ने बारे व्यवहारिक प्रस्तुति र तालिम प्रदान गरिएको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई एकत्रित गरेर पोसिलो खाना बनाउने प्रक्रिया र पछिल्लो खानामा समावेश भएका खाद्य सामग्रीको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका पोषण फोकल पर्सन गजेन्द्र यादवले सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोषिलो खाना प्रदर्शन तथा अनुशिक्षण कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई पोषणको महत्व र सन्तुलित आहारबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममार्फत सन्तुलित आहारले शरीरको वृद्धि विकास, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा पढाइमा सकारात्मक प्रभाव पार्ने विषयमा जानकारी दिनु भएको थियो।स्थानीय स्रोतबाट सजिलै तयार गर्न सकिने पोषिलो खानाका नमूनाहरू प्रस्तुत गरिँदै अण्डा, गेडागुडी, हरियो सागपात, फलफूल जस्ता आहारको उपयोगिता र कुपोषणबाट बच्ने उपायहरूबारे व्यवहारिक प्रशिक्षण दिनु भएको थियो। साथै, सरसफाइ, स्वच्छ पानी सेवन, नियमित व्यायाम र स्वस्थ जीवनशैलीको अभ्यासले पोषणमा सहयोग पुर्याउने कुरामा समेत जोड दिदैँ यस कार्यक्रमले विद्यार्थीहरूमा पोषणप्रति चेतना अभिवृद्धि गराउनुका साथै व्यवहारमै लागू गर्ने प्रेरणा दिने फोकल पर्सन यादवले बताउनु भयो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोरकुमार आचार्य, जिल्ला स्वास्थ्य कार्यालय दाङका पोषण फोकल पर्सन गजेन्द्र यादव, सरस्वती माध्यमिक विद्यालय गोबडियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरी, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य प्रकाश वर्मा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय स्वास्थ्यकर्मीको उपस्थिति रहेको कार्यक्रममा पोषण सम्बन्धी चेतना अभिवृद्धि भएको सहभागीहरूको भनाइ थियो।
यस कार्यक्रमबाट विद्यार्थी तथा समुदायमा सन्तुलित आहार र स्वस्थ जीवनशैलीको अभ्यासप्रति सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले बताउनुभयो।
