घोराही–४ सवारीकोटको सुनौलो सम्भावना र विकासको चुनौती: सविन प्रियासन

गणतन्त्र नेपाल डटकम

दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ मा अवस्थित सवारीकोट केवल एउटा स्थल होइन, यो ऐतिहासिक महत्व बोकेको थलो हो । महाभारत पर्वत श्रृङ्खलामा अवस्थित यस ठाउँले दाङको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदा एकै ठाउँमा जोडेको छ । राजा रत्नपरिक्षकको दरबारका भग्नावशेष, ऐतिहासिक मन्दिरहरू र रमणीय प्राकृतिक दृश्यावलीले सवारीकोटलाई एउटा अनुपम पर्यटन स्थलको रूपमा उभ्याउँछ ।तर, दुःखको कुरा के छ भने, यति महत्वपूर्ण स्थलको विकास र संरक्षणमा पर्याप्त ध्यान नदिइएको देखिन्छ । सवारीकोटको इतिहास गौरवमय छ । जनमानस अनुसार यहाँ कुनै समय राजा रत्नपरिक्षकले राज्य गरेका थिए । दरबारका भग्नावशेषले त्यो समयको शान र सौर्यको झल्को दिन्छन् । यसैगरी, यहाँको ऐतिहासिक मन्दिरहरूले स्थानीय धार्मिक आस्था र सांस्कृतिक परम्पराको जगेर्ना गरिरहेका छन् । यद्यपि यी सम्पदा समयसँगै जीर्ण हुँदै गइरहेका छन् । संरक्षणको अभाव, पहुँच मार्गको अविकसित अवस्था र पूर्वाधारको कमीले गर्दा सवारीकोटको समग्र विकासको गति सुस्त बनेको छ ।

केही वर्षअघि सवारीकोटमा दाङमै पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको थियो, जसले यहाँको साहसिक पर्यटन सम्भावना उजागर ग¥यो । त्यसबाहेक, केही उत्साही स्थानीयले होमस्टे सञ्चालन गर्ने प्रयास पनि गरे । यद्यपि, यस्ता प्रयास दीर्घकालीन योजनाबिना भएकाले सफल हुन सकेनन् । यसले देखाउँछ कि विकासका सम्भावना प्रचुर भए पनि योजनाबद्ध कार्यक्रम र लगानीको खाँचो रहेको छ । सवारीकोटको विकासका लागि पहिला सडक पूर्वाधारमा ध्यान दिनु आवश्यक छ । प्युठान सडकखण्ड हुँदै यहाँ पुग्न सकिन्छ भने पनि सडकको अवस्था सन्तोषजनक छैन । वर्षायाममा सडक बिग्रिने समस्या रहन्छ, जसले आवागमन कठिन बनाउँछ । त्यसैले, सडक स्तरोन्नति र नाला व्यवस्थापनमा लगानी अनिवार्य छ । पहुँच मार्ग सहज भए मात्र पर्यटकहरूको आवागमन बढ्नेछ र यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्नेछ ।

त्यसपछि, दरबारको भग्नावशेष जोगाउन संरक्षण र व्यवस्थापन योजना आवश्यक छ । पुरातात्विक महत्वका यस्ता संरचना नष्ट भएमा हामीले आफ्नो ऐतिहासिक धरोहर गुमाउने छौँ । पुरातत्व विभाग र स्थानीय तहको सहकार्यमा दरबार क्षेत्रको संरक्षण योजना अघि बढाउनुपर्छ । साथै, मन्दिरहरूको सरसफाइ र जीर्णोद्धारको काम पनि सँगसँगै हुनु जरुरी छ । पर्यटन पूर्वाधार विकास पनि अर्को महत्वपूर्ण पक्ष हो । ट्रेकिङ मार्गको चिन्हांकन, विश्राम स्थल र खानेपानीको व्यवस्था गरी पर्यटकलाई सहज वातावरण सिर्जना गर्नुपर्छ । सवारीकोटको सुन्दरता अवलोकन गर्न आउने पर्यटकले आधारभूत सेवा र सुविधा पाउनैपर्छ । यसले दीर्घकालीन पर्यटन विकासमा मद्दत गर्छ ।

होमस्टे पर्यटन पनि सवारीकोटको विशेषता बन्न सक्छ । तर, यसका लागि स्थानीय समुदायलाई तालिम, बजेट र प्राविधिक सहयोग दिनुपर्छ । स्थानीय संस्कृति, परिकार र जीवनशैलीलाई प्रवर्धन गर्ने खालको होमस्टे मोडल प्रभावकारी हुन्छ । यसले मात्र पर्यटनसँगै आम्दानीको स्रोत पनि सिर्जना गर्दछ । सवारीकोटको प्रचार–प्रसार अझै पनि कमजोर छ । बाहिरी क्षेत्रमा यसको ऐतिहासिक र प्राकृतिक महत्वबारे जानकारी सीमित छ । त्यसैले, घोराही उपमहानगरपालिका र वडा कार्यालयले डिजिटल मिडिया, प्रचार सामाग्री र विशेष कार्यक्रममार्फत सवारीकोटको महत्वलाई देशभर पु¥याउनु पर्छ । ‘सवारीकोट उत्सव’ जस्ता कार्यक्रमले पनि स्थानीय कला, संस्कृति र पर्यटनको प्रचारमा सघाउने छन् ।

अर्कोतर्फ, कृषि र पशुपालनसँग जोडिएको ‘कृषि–पर्यटन’ को सम्भावना पनि सवारीकोटमा छ । यहाँको माटो फलफुल खेतीका लागि उपयुक्त छ भने पशुपालन पनि राम्रोसँग हुँदै आएको छ । सिजनअनुसार फलफुल उत्पादनको अवलोकन र ग्रामीण जीवनशैलीलाई पर्यटकसँग जोड्न सकिन्छ । यसले रोजगारीको अवसर मात्र सिर्जना गर्दैन, दाङको समग्र कृषि–आर्थिक विकासमा टेवा पु¥याउँछ । यी सबै कुराका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच सशक्त समन्वय हुनु जरुरी छ । साथै, निजी क्षेत्रको लगानी र सार्वजनिक–निजी साझेदारी मोडलमा काम गर्नुपर्छ । स्थानीय समुदायको सक्रिय सहभागिता विकासको मेरुदण्ड हुनुपर्छ । उनीहरूको सीप र संसाधनको सही सदुपयोग गरेर मात्रै सवारीकोटको दिगो विकास सम्भव छ । सवारीकोट हाम्रो सामूहिक सम्पदा हो । यसलाई व्यवस्थित विकास गर्न सकेमा दाङको पर्यटन र आर्थिक समृद्धिमा ठूलो योगदान पुग्नेछ । ऐतिहासिक महत्वको संरक्षण, पूर्वाधारको विस्तार, र सामुदायिक सहभागिता सुनिश्चित गरेर मात्र सवारीकोटले आफ्नो सुनौलो सम्भावनालाई सार्थकता दिन सक्छ । यो केवल एक ठाउँको विकास नभएर दाङको गौरवको संरक्षण र प्रवद्र्धन हो भन्ने बुझ्न जरुरी छ ।

मा प्रकाशित