गढवा गाउँपालिकाको नीति तथा कार्यक्रमबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,१८ जेठ । गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेट तयारीको सन्दर्भमा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम आइतबार गढवामा सम्पन्न गरेको छ।

आईतवार पालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरुबाट आएका सुझावहरुलाई संकलनमा मात्र सिमित होइन कार्यान्वयन गर्न गराउन नागरिकहरुले कार्यक्रममै जोड दिइएको छ।

गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूले सहभागी भई आफ्ना धारणा, सुझाव तथा गुनासा व्यक्त गरेका थिए। उनीहरूले पालिकाले ल्याउन लागेका नीति तथा कार्यक्रममाथि विचार राख्दै सुधारका पक्षहरू प्रस्तुत गरेका थिए।

कृषि तथा पशुपालनमा आत्मनिर्भरता बढाउन स्थानीय सरकारले प्रभावकारी निती कार्यक्रम र बजेट बनाउन आग्रह गर्दै वडामा रहेका कृषि तथा पशु प्राबिधिकहरुलाई गाउँ-गाउँमा परिचालन गर्नुपर्ने, कृषि उपज संकलन केन्द्रको प्रभावकारी ब्यवस्थापन र बजारीकरणको ब्यवस्था गर्नुपर्ने, शैक्षिक गुणस्तर बृद्धि गर्न बिशेष निती कार्यक्रम र बजेट ब्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सरकारले उपलब्ध गराउने निःशुल्क औषधीहरु अपुग भएकोले पालिकाले खरिद गरि ब्यवस्थापन गर्नुपर्ने र सर्पदंश उपचार केन्द्रमा रहेको भेण्टिलेटर सुचारु गर्नुपर्ने, वन वातावरण र जैविक विविधता संरक्षण र जलवायु अनुकुलनका निती कार्यक्रम ल्याउनुपर्ने, गढवा बजारको फूटपाथ र कृषि उपज संकलन केन्द्रको ब्यवस्थापन गर्नुपर्ने, उद्योग, ब्यवसाय र पर्यटन प्रवर्धन गर्ने खालका निति कार्यक्रम र बजेट बनाइनु पर्ने लगायतका बिषयमा कार्यक्रमका सहभागिहरुले सुझाव  दिएका थिए ।

यसैगरी भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण,सम्वर्धन,उन्नयन र बिकासका लागि निति कार्यक्रममा योजनाहरु समावेश गरिनुपर्ने, लोपोन्मुख पञ्चैबाजा र नौमति वाजा लगायत स्थानीय संस्कृति झल्किने कला संस्कृतिको बहुसाँस्कृतिक संग्रहालय बनाइनु पर्ने, पर्यटन बिकासमा जोड दिदै गढवा बजार केन्द्रित अत्याधुनिक ग्रिनपार्क निर्माण गरिनुपर्ने, सेवा प्रवाहमा सुशासन र पारदर्शिता झल्किनुपर्ने, स्वास्थ्य संस्थाहरुमा डिजिटल एक्सरे लगायत एनलाइजर मसिन र प्रभावकारी ल्यावको ब्यवस्थापन गरिनुपर्ने, जनताले अनुभूति गर्नेगरी भौतिक बिकास निर्माणमा ध्यान दिनुपर्ने, नियमन र अनुगमनमा प्रभावकारीता दिनुपर्ने, नदीजन्य पदार्थको ब्यवस्थापन गर्दै चोरी निकासी नियन्त्रण गरि राजश्व संकलनमा‌ जोड दिनुपर्ने, लोककल्याणकारी बिज्ञापनहरु स्थानीय मिडियालाई दिने नितिलाई कार्यान्वयन गर्नुपर्ने, जनतासंग जनप्रतिनिधी कार्यक्रमलाई गाउँ टोल सम्म पुर्याइनु पर्ने लगायतका महत्वपूर्ण निति, कार्यक्रम र बजेट ल्याउन सरोकारवालाहरुले आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकालाई समृद्ध बनाउन सहकार्य आवश्यक रहेको बताए। उनले पालिकाले गरेका राम्रा कामहरूको प्रचारप्रसार हुनु जरुरी रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत मनपरी टिप्पणी र भ्रामक जानकारी फैलाउने कार्यप्रति चिन्ता व्यक्त गरे।

“सामाजिक सञ्जालमा सत्यताविना लेखिने स्टाटसहरूले गलत सन्देश दिन्छन्। समालोचना सशक्त होस् तर प्रमाणसहित होस्,” पोख्रेलले भने। उनले गढवा स्वास्थ्य चौकीमा चौबीसै घण्टा इमर्जेन्सी सेवा सुरु गरिएको र औषधिहरू निजी स्रोतबाट खरिद गरी वितरण गरिँदै आएको जानकारी समेत दिए।

नदीजन्य पदार्थ उत्खननका विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकाले नीतिगत आधारमा कार्य गरिरहेको स्पष्ट पारे। “जनताको अपेक्षाअनुसार तीव्र विकास हुन नसकेको भए पनि उपलब्ध बजेट अनुसार समृद्ध गढवातर्फ अघि बढिरहेका छौं,” उनले थपे।

अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वडा नं ५ का अध्यक्ष लेखराज थापा, वडा नं ६ का अध्यक्ष वीरबहादुर आले मगर लगायतले आफ्ना क्षेत्रगत अनुभव प्रस्तुत गरे।

कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, होटल व्यवसाय संघ, राजनीतिक दलका प्रतिनिधि, संघ संस्था, नागरिक समाज, टोल विकास संस्था, विद्यालयका प्रतिनिधि, शिक्षक, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख पुना राम शर्माले गरेका थिए।

मा प्रकाशित