घोराही मसिना–स्वर्गद्धारी सडकलाई पयर्टन मार्ग घोषणा गरी कालोपत्रे गरौं: सविन प्रियासन

गणतन्त्र नेपाल डटकम

प्युठान जिल्लामा अवस्थित पवित्र धार्मिक स्थल स्वर्गद्धारीमा नेपाल र भारतका लाखौं श्रद्धालु तथा पर्यटक हरेक वर्ष आउने गर्दछन् । स्वर्गद्धारीको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व मात्र नभई त्यसले ल्याउने आर्थिक समृद्धि पनि उत्तिकै महत्वपूर्ण छ । दाङ जिल्लाको घोराहीको मिसनाबाट स्वर्गद्धारीसम्मको करिब ३० किलोमिटर दूरी छ ।

यद्यपि केही खण्डमा ग्राभेल तथा अलिकति सुधार भएको भए पनि पूर्ण रूपमा कालोपत्रे नहुँदा यात्रा झन्झटिलो र जोखिमपूर्ण छ । वर्षातको समयमा मार्गमा सवारी साधान गुडाउन सकिदैन । यस मार्गको सुधार र कालोपत्रेले धार्मिक पर्यटक मात्र होइन, घोराही र प्युठानको समग्र पर्यटन व्यवसायलाई नै नयाँ जीवन दिनेछ । स्वर्गद्धारी पुग्न सहज हुँदा ती लाखौं पर्यटकले घोराहीको बजारमा खर्च गर्ने सम्भावना बढ्नेछ । स्थानीय व्यवसायी, होटल, रेस्टुरेन्ट र अन्य सेवाप्रदायकको आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ । घोराही बजारलाई स्वर्गद्धारी जाने मूल प्रवेशद्वारको रूपमा विकास गर्न सकिन्छ, जसले रोजगार सिर्जना गर्ने र दाङको पर्यटन नक्शामा घोराहीको नाम अझ प्रखर बनाउनेछ ।

घोराही मसिना–स्वर्गद्धारी सडकको कालोपत्रेले घोराही र प्युठानको आर्थिक, सामाजिक रूपान्तरण गर्नेछैन, यसले सिजनमा मात्र हुने आवाजाहीलाई वर्षभरि सुचारु बनाउनेछ । हाल सवारी साधनहरू वर्षातको समयमा जान नसक्दा स्थानीयवासी र तीर्थालुहरू समस्यामा पर्ने गरेका छन् । तर, यो सडक कालोपत्रे भएपछि वर्षातका दिनहरूमा पनि यात्रुहरू सहजै यात्रा गर्न सक्नेछन् । सडकमा धुलो, हिलो र खाल्डाखुल्डीका कारण हुने दुर्घटनाको सम्भावना पनि न्यून हुनेछ । अहिले पनि केही साहसी ठूला गाडी, साना गाडी र मोटरसाइकलका यात्रुहरू स्वर्गद्धारीको यात्रा गरिरहेका छन् ।

उनीहरूले भोगेको कठिनाइ र जोखिमबाट राज्यले पाठ सिकेर छिटोभन्दा छिटो यो सडकलाई कालोपत्रे गर्नुपर्छ । दाङ उपमहानगरपालिकाका योजना र प्रदेश सरकारको प्राथमिकतामा यो सडक पर्नुपर्छ । यसका लागि बजेट सुनिश्चित गर्नु र कार्यान्वयनमा पारदर्शिता राख्नु आवश्यक छ । नेपाल सरकारले पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ । तर, धार्मिक र सांस्कृतिक स्थलहरूसम्मको पहुँच नजोडिएसम्म पर्यटकलाई आकर्षित गर्न सकिँदैन । स्वर्गद्धारी जस्तो स्थलमा सहज पहुँच नहुँदा देशको पर्यटन आम्दानी घट्ने मात्र होइन, स्थानीय धार्मिक आस्थाको सम्मानमा पनि आँच पुग्छ । त्यसैले घोराही–स्वर्गद्धारी सडक कालोपत्रे योजना ‘सिर्जनात्मक पर्यटन पूर्वाधार’का रूपमा अघि बढ्नुपर्छ ।

कालोपत्रेले स्थानीय कृषक र व्यापारीका लागि पनि फाइदा पु¥याउनेछ । प्युठान र घोराहीको बीचमा रहेका गाउँका उत्पादन बजारसम्म ल्याउन सहज हुनेछ । यो सडकले स्थानीय उत्पादनको पहुँच र मूल्यवृद्धि पनि गराउनेछ । त्यसैले यो केवल पर्यटकका लागि मात्र नभई, कृषि र अन्य क्षेत्रका लागि पनि अत्यन्तै महत्वपूर्ण हुनेछ । घोराही–स्वर्गद्धारी सडक कालोपत्रे हुनु केवल पूर्वाधार निर्माण होइन; यो स्थानीय विकास, रोजगारी, धार्मिक पर्यटन प्रवद्र्धन र सांस्कृतिक संरक्षणको साझा लक्ष्य हो । सरकार र सरोकारवालाले यसलाई प्राथमिकता दिन ढिलाइ गर्नु हुँदैन । स्थानीयवासी, व्यापारी, धार्मिक संस्थान र सरोकारवाला सबै मिलेर यो अभियानलाई सफल बनाउन सशक्त दबाब र सहकार्य गर्नुपर्छ । यसले हाम्रो आर्थिक, सांस्कृतिक र धार्मिक पहिचानलाई बलियो बनाउनेछ । यसरी, घोराही–स्वर्गद्धारी सडक कालोपत्रे गर्ने काम तत्काल सुरु गरेर छोटो समयमै सम्पन्न गर्नु आवश्यक छ । यसले स्वर्गद्धारीसम्मको यात्रालाई न केवल सहज बनाउनेछ, बरु दाङको पर्यटन र स्थानीय अर्थतन्त्रमा अभूतपूर्व क्रान्ति ल्याउनेछ । सरकार र सम्बन्धित निकायहरूले यो विषयलाई प्राथमिकतामा राखेर छिटोभन्दा छिटो कार्यान्वयन गरुन् भन्ने हामी सबैको साझा अपेक्षा हो ।

पर्यटनको विकास बिना आर्थिक समृद्धि हासिलन गर्न कठिन भएकाले घोराही मसिना–स्वर्गद्धारी सडक खण्ड छिटो भन्दा छिटो कालोपत्रे गरी सूचारु गर्ने तर्फ सबैको ध्यान जानुपर्छ । एकताबद्ध प्रयासले यो छिटो सम्भव छ ।

मा प्रकाशित