
गढवा (दाङ), १६ जेठ । गढवा गाउँपालिका वडा नं. ६ स्थित बनकट्टीमा क्रियाशील राधाकृष्ण उद्घमी महिला समूहको अध्यक्ष अनिता कुमारी यादवको अध्यक्षतामा महिला उद्यमी समूह सञ्जालको नियमित बैठक सम्पन्न भएको छ।
बैठकमा गढवा–६ मा गठित १४ वटा महिला उद्यमी समूहका अध्यक्ष तथा सचिवहरू सहभागी भएका थिए। बैठकमा समूहहरूले अहिलेसम्म गरेका कार्य, कर्तव्य, उद्यमशीलता गतिविधिको प्रचार–प्रसार, अनुभव आदान–प्रदान तथा अन्य समूहले पनि सिक्न सक्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विर बहादुर आले मगर, दिनामणी आचार्य र बसन्त कुमार शर्मा विशेष अतिथिका रूपमा सहभागी थिए। समूह सञ्जालले उत्पादनमा आधारित महिलाको सशक्तीकरणलाई प्रोत्साहित गर्न यो बैठक आयोजना गरेको हो।
बैठकमा सहभागी महिला उद्यमीहरूले आफ्ना समूहमार्फत उत्पादन गरिएका स्थानीय कृषि उपज तथा तरकारीहरू प्रमुख अतिथि तथा अतिथिहरुलाई उपहारस्वरूप प्रदान गरेका थिए, जसले उत्पादनप्रति गर्व र आत्मनिर्भरता झल्काउँथ्यो।
साथै, सामुदायिक सहजीकरण र सामाजिक उत्तरदायित्वअन्तर्गत, समूह सञ्जालले गढवा–६, आटिपाकर शिविर निवासी मायादेवी चौधरीको छोराको उपचारका लागि नगद रु १ हजार १५ रुपैयाँ सहयोग प्रदान गरेको छ।
सहयोग सम्बन्धमा समूह सञ्जालकी अध्यक्ष रुपा गिरीले जानकारी दिँदै भनिन्, “समाजमा परेका विपद् र समस्यामा महिला समूहहरू सधैं सहयोग गर्न तत्पर छन्। यो सहयोगले सामाजिक एकता र सहानुभूतिका मूल्यलाई मजबुत बनाएको छ।”
समूह सञ्जालको यो बैठकले उद्यमशीलता, सामाजिक उत्तरदायित्व र महिला सशक्तीकरणका लागि स्थानीयस्तरमै नमुना उदाहरण प्रस्तुत गरेको छ।
