गणतन्त्र नेपालका पिता प्रचण्ड र असली हकदार नेकपा माओवादी केन्द्र हो

विदुर कटुवाल

‘इतिहास’ जसले लेखेर लिपिबद्ध गर्छ, उसैको हुन्छ । इतिहास बङ्ग्याएर लेखे बाङ्गै हुन्छ, सत्य र तथ्यमा लेखे जस्तो थियो त्यस्तै रहन्छ । त्यो लेख्नेहरूमै भर पर्छ तर आफ्नो जीवनका लागि या समाज र देशका लागि अलिखित इतिहास जसले भोगेर वा भिडेर बनाएको हुन्छ, त्यस्तो इतिहास लिखित रूपमा कमै पाइन्छ । यस्ता इतिहास लेख्ने लेखेकहरू थोरै हुन्छन् ।

आज १८औँ गणतन्त्र दिवस । गणतन्त्र दिवसकै दिन गणतन्त्रको छोटो इतिहासको भित्री पाटो चर्चा गरौँ । आजको दिन— एकात्मक शासन व्यवस्थाको नाइके राजतन्त्र औपचारिक रूपमा ढलेको दिनस जनताका छोराछोरी देशको राष्ट्रपति हुन पाउने व्यवस्था आएको दिन । नेपालमा गणतन्त्र स्थापनाका लागि बाटो कसले खोल्यो ? त्यो कुन नेता, कुन राजनीतिक पार्टी वा कुन शक्ति थियो ? यो प्रश्न गरिरहँदा सहजै कमरेड प्रचण्ड र माओवादी पार्टीको प्रतिविम्ब उत्रन्छ । इतिहास पर्गेल्न सक्ने व्यक्ति वा सोझा सर्वसाधारण थाहा छ, गणतन्त्रको जग माओवादीले नै बसालेको थियो, जसका प्रमुख नेता थिए प्रचण्ड । गणतान्त्रिक नेपालको परिकल्पना गरी संस्थागत जग बसाउने त्यो महान् ‘जनयुद्ध’लाई बिर्सेर गणतन्त्र दिवस अपूरै रहन्छ ।

गणतन्त्र र नेपाली जनता
गणतन्त्र नेपाल निर्माणको परिकल्पना र माग २००७ सालमै नेपाली जनताले गरेका थिए । यो कुरा २००७ सालमा राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र ल्याउन सशस्त्र युद्धको नेतृत्व गरेको नेपाली कांग्रेसलाई पनि प्रस्ट थाहा छ । त्यति वेला गणतन्त्र नआउने भएपछि वा आन्दोलन सम्झौतामा टुङ्गिएपछि परिवर्तनकामी शक्तिहरूले कांग्रेसले धोका दिएको आरोप लगाएको इतिहास छ । कांग्रेसकै धोकाका कारण २०१७ सालदेखि २०४६ सालसम्म नेपालमा राजतन्त्रको आधुनिक संवैधानिक शासन चल्ने परिस्थिति सिर्जना भयो । २०४६ सालपछि बहुदलीय व्यवस्था त आयो तर गणतन्त्र आएन । २०४७ सालको संविधानले पनि त्यही राजतन्त्रलाई शक्तिशाली बनायो । जनताले अर्को एउटा फरक राजनीतिक शक्ति खोजिरहे ।

अर्कोतिर राणाशासनमा बनेका सामाजिक संरचना कति पनि ध्यस्त हुन सकेका थिएनन् । यिनै आधारमा गणतन्त्रवादी शक्तिहरु गोलबन्द हुने परिस्थिति सिर्जना भयो । यही बिचमा फरक राजनीतिक विचार बोक्ने पार्टीका रूपमा तत्कालीन नेकपा माओवादी उदाउँदै थियो । जसका नेता तथा सारथी थिए— पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’, डा। बाबराम भट्टराई उर्फ लालध्वज लगायत ।

उनीहरूकै नेतृत्वमा २०५२ फागुन १ गतेबाट जनयुद्ध सुरु भयो । गणतन्त्र पक्षधर भनौँ वा परिवर्तनकामी जनताले भातै खुवाएर भने पनि सहयोग गरे । त्यही जनयुद्ध संघीय गणतन्त्र नेपालको जग बसाउने एउटा आन्दोलन बन्यो । गणतन्त्र स्थापनापछि जनयुद्धको उद्देश्यमाथि प्रश्न उठाउने वैद्य, बाबुरामहरू अहिले फरक बाटोमा छन्, तर गणतन्त्रकै पक्षमा छन् । गणतन्त्रका लागि जनयुद्धका नेतृत्वकर्ताले राजनीतिक र रणनीतिक रूपमा विभिन्न भाषा प्रयोग गरे, लक्ष्य गणतन्त्र थियो ।

जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुन् । तथ्यमा आधारित इतिहासलाई तोडमोड नगरीकन नाङ्गो आँखाले हेर्दा गणतन्त्र नेपालका धरोहर पनि उनै प्रचण्ड हुन् । गणतन्त्र नेपालका पिता प्रचण्ड र गणतन्त्रको हकदार अहिलेको नेकपा माओवादी केन्द्र नै हो ।

तथ्यभित्रका सत्य
जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुन् । तथ्यमा आधारित इतिहासलाई तोडमोड नगरीकन नाङ्गो आँखाले हेर्दा गणतन्त्र नेपालका धरोहर पनि उनै प्रचण्ड हुन् । गणतन्त्र नेपालका पिता प्रचण्ड र गणतन्त्रको हकदार अहिलेको नेकपा माओवादी केन्द्र नै हो । त्यसमा सहयोद्धाका रूपमा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला थिए । १९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको ‘कु’मा परेर भित्तामा पुगी एउटा कित्तामा उभिएका सात राजनीतिक दललई गिरिजाप्रसाद कोइरालाले नेतृत्व दिए । माओवादीले घिसारेरै भए पनि तत्कालीन सात दलका नेताहरू गणतन्त्रसम्म आइपुगे । यसका लागि निर्णायक नेता थिए, गिरिजाप्रसाद कोइराला, त्यसैले उनलाई पनि गणतन्त्रका पिता मान्नुपर्छ ।

जनयुद्धको बलमा भएको २०६२र०६३ को जनआन्दोलन गणतन्त्र नेपाल निर्माण गर्ने माध्यम हो । गणतन्त्र ल्याउनका लागि जनयुद्ध साधन बन्यो, जसले २३८ वर्ष लामो विरासत बोकेको शाह वंशको शासनकाल अन्त्य गर्‍यो ।

जनयुद्ध मन नपराउने कतिपयले कांग्रेसको राणाविरोधी सशस्त्र युद्धमाथि भने गर्व गर्छन् तर जनयुद्धको विरोध गर्छन् । यता नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा पनि त्यस्तै छ । मार्क्सवादी लेनिनवादी (माले) धारका कम्युनिस्ट हौँ भन्ने हालको मूलधारको नेकपा एमाले हो । यसले पनि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा नेता पुष्पलाललाई माउ नेता
मान्छ । पुष्पलालले २०१४ सालमै नेकपाको दोस्रो अधिवेशनबाटै गणतान्त्रिक कार्यक्रम ल्याएका थिए, तर अखिल नेपाल क्रान्तिकारी को–अर्डिनेसन केन्द्र (कोके) हुँदै मालेबाट बनेको अहिलेको एमालेले २०४६ सालसम्म आउँदा ‘गणतन्त्र’ शब्दको प्रयोग समेत गरेको देखिँदैन । एमाले पनि अहिलेका पूर्वराजाको पेलानमा परेपछि गिरिजाप्रसाद कोइरालासँगै गणतन्त्रको पक्षमा आइपुगेको हो ।

चाहे त्यो मधेसका गणतन्त्रवादी नेता रामराजप्रसाद सिंहको आन्दोलन होस् वा सांस्कृतिक, जातीय, वर्गीय, लैंगिक, क्षेत्रीय रूपमा हेपिएका वा दबाइएकाहरूको असफल आन्दोलनका स्वरहरू हुन्— ती सबै कहीँ न कहीँ गणतन्त्रका पक्षमा थिए । त्यही गणतन्त्रका पक्षमा भएका असफल आन्दोलन र विद्रोहलाई माओवादीका सर्वोच्च कमान्डर प्रचण्डले जनयुद्धमार्फत राजनीतिक र रणनीतिक रूपमा गोलबन्द गर्न सफल भए । त्यही गोलबन्द बनाउने जनयुद्धले दिएको उपहार गणतन्त्र दिवस आज हामी मनाउँदै छौँ ।

गणतन्त्र शब्द सुन्दा गोली हान्ने तत्कालीन राजा, जो अहिले सामान्य नागरिकको हैसियतमा छन् तर उनले सडकमार्फत गणतन्त्रको विरोध गर्नका लागि खेताला लगाएका छन् । राजावादीहरुको विरोध प्रदर्शनका कारण गएको चैतमा एकजना पत्रकारको ज्यानै लियो । आज ९१५ जेठमा० गणतन्त्र दिवसकै दिन, गणतन्त्रको विरोध गर्ने उनीहरुको आन्दोलन कुन हदमा पुग्ने हो, हेर्न बाँकी छ । जेहोस्, सानो भिडबाहेक सिंगो नेपाली जनता आज गणतन्त्रको पक्षमा छन् ।

राजावादीले यो सन्देश दिइरहेका छन् कि गणतन्त्रवादी नेताहरुले कार्यशैली परिवर्तन गर्नुपर्ने वेला आएको छ । आज गणतन्त्रको विरोध हुनुमा प्रचण्ड लगायत गणतन्त्रवादी नेताको समेत दोष छ । आज कांग्रेस–एमाले भित्री रूपमा गणतन्त्रको पक्षमा छैनन् । २००७ सालदेखि नै नेपाली जनतालाई धोका दिँदै आएको कांग्रेसले हो । अनि ढुलमुले मध्य वामपन्थीको तक्मा भिरेको एमाले माओवादीभन्दा अलि बढी स्वार्थी कम्युनिस्ट पार्टी हो । हुन माओवादी पनि कम छैन । यो परिस्थितिमा गणतन्त्रको रक्षाका लागि माओवादी आन्दोलनका नेताहरू एक हुनुपर्नेछ ।

यतिखेर नेपाली जनताले सुशासन र आर्थिक रूपान्तरणको अपेक्षा गरेका छन् । त्यसका लागि नेतृत्व इमानदार बन्नुपर्छ । गणतन्त्रले सामाजिक न्यायसहितको समृद्धि ल्याउन सक्नुपर्छ ।

आजको समस्या व्यवस्थामा होइन, व्यवस्थापकमा देखिन्छ । त्यसो भएकाले राजावादीको आन्दोलनमा गएर व्यवस्थाको विकल्प खोज्नेले निर्वाचन पो पर्खिने हो कि ? अनि प्रचण्ड र माओवादीलाई गाली गर्नेहरूले नयाँ दल पो खोल्ने हो कि ? अन्त्यमा नेपाली राजनीतिक इतिहास नाङ्गो आँखाले पढ्ने गरौँ । तथ्य र सत्य खोजौँ र लेखेर लिपिबद्ध गरौँ ।

(लेखक प्रेस सेन्टर नेपालका नेता हुन् ।)

 

मा प्रकाशित