
गढवा,१४ जेठ।गढवा गाउँपालिका वडा नं. ०४ मा कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा कृषकहरूले ल्याएका माटोका नमूनाहरू परीक्षण गरी माटोको पिएच (pH), नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्राको विश्लेषण गरिएको थियो।
परीक्षणको नतिजाअनुसार वडा नं. ४ को अधिकांश माटो क्षारिय (alkaline) प्रकृतिको पाईएको गढवा गाउँपालिका सहायक कृषि विकास अधिकृत फुलनदेवी चौधरीलेजानकारी दिनुभयो। माटोमा पोटासको मात्रा अत्यन्त न्यून देखिएको छ भने नाइट्रोजन र फस्फोरसको मात्रा पनि औसतभन्दा कम पाईएको छ चौधरीले भन्नु भयो।
वडाभरिका कृषकहरूले माटोको उपयुक्त सन्तुलन कायम गर्न विशेष ध्यान दिन आवश्यक छ। माटोको उर्वराशक्ति बढाउन मल प्रबन्धन र सुधारात्मक उपायहरू अवलम्बन गर्नु महत्वपूर्ण हुने कृषि विकास शाखाले जनाएको छ।
माटो परीक्षण शिविर यस अघि ११ गते वडा नं. ३, १२ गते वडा नं २ र १३ गते वडा नं ५ मा सञ्चालन भइसकेको छ भने १६ गते वडा नं ७ मा, १८ गते वडा नं ६ मा हुने कार्यक्रम तय गरिएको छ भने वडा नम्बर वडा नं १ र ८ मा छलफल भैरहेको गढवा गाउँपालिका कृषि विकास शाखाकी सहायक कृषि विकास अधिकृत फुलनदेवी चौधरीले जानकारी दिनुभयो।
