
गढवा,१४ जेठ। गढवा गाउँपालिका आयोजनामा पञ्जीकरण सम्बन्धी वडा सचिव तथा कम्प्युटर अपरेटरहरूका लागि तीन दिने क्षमता विकास तालिम बुधबारदेखि गढवामा सुरु भएको छ।
गढवा गाउँपालिका पञ्जीकरण शाखाको संयोजनमा आयोजित तालिम गढवा सामुदायिक पुस्तकालय हलमा सञ्चालन भइरहेको हो ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्य अतिथ्यमा तालिम सुरु भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले सामाजिक सुरक्षा भत्ता वितरणलगायतका कार्यहरू छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न पञ्जीकरण प्रणालीमा दक्षता आवश्यक रहेको बताउनुभयो। उहाँले भने, “राजश्व व्यवस्थापनदेखि अन्य सबै प्रशासनिक कामहरूलाई डिजिटल प्रणालीमार्फत अघि बढाउनुको विकल्प छैन। यस्तो तालिमले अनलाइन प्रणालीको प्रयोगमा सहजता ल्याउने छ।”
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पञ्जीकरण प्रणाली जनतालाई प्रत्यक्ष सेवा दिने संवेदनशील क्षेत्र भएकाले सम्बन्धित कर्मचारी तथा अपरेटरहरू दक्ष हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो “हाम्रो पालिकाले सेवा प्रवाह प्रभावकारी बनाउन यस्ता क्षमता विकास तालिमलाई प्राथमिकता दिँदै आएको छ। वडास्तरमै दक्ष जनशक्ति निर्माण गर्नु अहिलेको आवश्यकता हो।” तालिममा वडा सचिव र कम्प्युटर अपरेटरहरूलाई दैनिक कामकाज, अनलाइन प्रणाली प्रयोग, डिजिटल दर्ता, सामाजिक सुरक्षा तथा राजश्व सम्बन्धी प्रणालीहरूमा दक्षता अभिवृद्धि गराउने उद्देश्य राखिएको उपाध्यक्ष चौधरीले बताउनुभयो।
तालिममा प्रशिक्षकमा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुना राम शर्मा, सूचना तथा प्रविधि शाखा प्रमुख सञ्जित पौडेल र पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादव रहनु भएको छ।तालिम जेठ १४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ।
गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादवले गर्नुभएको थियो।
