
गढवा,१३ जेठ ।दाङ देउखुरी स्थित गढवा गाउँपालिका वडा नं. ६ मा रहेको गढवा स्वास्थ्य चौकीको आयोजनामा कुपोषण प्रभावित बालबालिकाहरूलाई लक्षित गर्दै विशेष पोषण परामर्श तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
हेलेन किलर इन्टरनेशनल र एडीआईको आर्थिक तथा प्राविधिक सहयोगमा मंगलबार सम्पन्न उक्त कार्यक्रममा कडा सिघ्र कुपोषण र मध्यम सिघ्र कुपोषण भएका बालबालिकाहरू र ति बालबालिकाहरूको अभिभावकलाई पोषणसम्बन्धी सचेतना अभिवृद्धि गराउने उद्देश्य राखिएको थियो।
कार्यक्रममा उपस्थित गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले कुपोषण न्यूनीकरणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “केवल औषधि वा पूरक आहारले मात्र होइन, आमाबुबा र समाजले बालबालिकालाई माया, स्याहार र सही जानकारी दिन सक्नुपर्छ। गढवा गाउँपालिकाले आगामी दिनमा पोषण शिक्षा र अभिभावक सशक्तिकरणका कार्यक्रमहरू थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनु भयो।
बालबालिकाको स्वास्थ्य सुधारका लागि नियमित स्वास्थ्य परीक्षण, तौल र उचाइको निगरानी, तथा समुचित आहार व्यवस्थापनमा जोड दिनुपर्ने गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले बताउनुभयो।
गढवा गाउँपालिका वडा नम्बर ६ मा कुल कुपोषण भएका बालबालिकाहरूको संख्या ३५ रहेको छ । जसमध्ये ४ जनालाई सम्मान गरिएको गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिनुभयो। स्वास्थ्य चौकीका प्रमुख यादवका अनुसार, “गाउँपालिकामा ३५ जना कुपोषण प्रभावित बालबालिका छन्। तिमध्ये चार जना बालबालिकाको कुपोषण अवस्थाको सुधार देखिएकाले यसपटक विशेष रुपमा सम्मान गरिएको हो।” “हामीले सम्मानित गरेका चार जना बालबालिकाहरूले स्वास्थ्य चौकी मार्फत उपलब्ध गराइएको नियमित परामर्श, उपचार, पोषण पूरक आहार तथा आमाबुबाको सहकार्यबाट आफ्नो पोषण स्तरमा उल्लेखनीय सुधार ल्याएका छन्। यस्ता उदाहरणहरूले अरू अभिभावकहरूलाई पनि प्रेरणा दिन्छ।”गढवा स्वास्थ्य चौकीका प्रमुख यादवले बताउनु भयो।
सम्मानित हुनेमा कुपोषण भएका बालबालिका रेभान्स यादव प्रथम,मेघा पुन द्वितीय,सन्तोष यादव तृतीय र आशिका परियार सान्त्वना हुनु भएको छ।
कार्यक्रममा सन्तुलित आहार, स्तनपानको महत्व, सरसफाइ र सुरक्षित खानेपानी, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उपाय, पोषण पुनर्स्थापनाको प्रक्रिया, तथा समुदायको भूमिका जस्ता विषयमा पोषण विशेषज्ञ टिमद्वारा जानकारी गराईएको थियो ।
