दलित महिलाहरूलाई लक्षित गरी गढवा गाउँपालिकामा सामग्री वितरण कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,१२ जेठ। गढवा गाउँपालिकाले दलित समुदायका एकल तथा जेष्ठ महिलाहरूलाई लक्षित गर्दै विशेष सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

“शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले गाउँपालिकाले समाजमा पछाडि परेका वर्गहरूलाई साथ दिने नीति अवलम्बन गरेको बताउनुभयो ।“दलित, एकल महिला र जेष्ठ नागरिकहरू हाम्रो संवेदनशील प्राथमिकतामा छन्। यस्ता कार्यक्रमले उहांहरूमा आत्मबल थप्नेछ,” अध्यक्ष पोख्रेलले भन्नु भयो ।

उपाध्यक्ष शारदा कुमारी चौधरीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै भन्नु भयो, “महिला र जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै सामाजिक सुरक्षा तथा समर्थनका यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर चलाइनेछ।”

कार्यक्रम अन्तर्गत दलित महिला तथा जेष्ठ महिलाहरूलाई सल, सुपानेट झुल र ब्ल्याङ्केट वितरण गरिएको थियो।

कार्यक्रममा दलित समुदायको विगत देखी हालसम्मको सामाजिक आर्थिक राजनैतिक अवस्थाको विश्लेषण र सो संग सम्बन्धीत संवैधानीक तथा कानूनी व्यवस्था समेटेर तयार पारिएको स्रोत सामाग्री सहितको जानकारी गराईएको थियो।

कार्यक्रममा दलित हक र अधिकारसम्बन्धी जनचेतनामूलक सन्देश पनि कार्यक्रममार्फत प्रवाह गरिएको थियो। जसको प्रशिक्षकमा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा रहनु भएको थियो।

कार्यक्रम गढवा गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक उत्थानका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वडा नं. ५ का अध्यक्ष लेख बहादुर थापा, साथै अन्य स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID