गढवामा बाल सञ्जालको समन्वयमा योजना तर्जुमा सम्बन्धी बाल भेला सम्पन्न

आलोक भावुक

गढवा, ९ जेठ । गढवा गाउँपालिका स्तरीय बाल सञ्जालको समन्वयमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि योजना तर्जुमा गर्ने उद्देश्यले शुक्रबार बाल भेला कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष सन्दिप डाँगीको अध्यक्षतामा तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

बालमैत्री योजना निर्माणका लागि आयोजना गरिएको कार्यक्रममा बालमैत्री विज्ञ विकिरण गौतमले सहभागी बालसञ्जालका प्रतिनिधिहरुलाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा विज्ञ गौतमले बाल अधिकार, योजना तर्जुमा प्रक्रियामा बालबालिकाको भूमिका र स्थानीय तहको नीति निर्माणमा बाल सञ्जालको योगदानका विषयमा जानकारी प्रदान गराउनु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले‌ बाल सहभागिता सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिका राष्ट्रका आधार हुन्। तिनीहरूको आवश्यकता र सुझावलाई योजना निर्माणमा समावेश गर्न हामी प्रयत्नशील छौं। बाल सञ्जालमार्फत प्रस्तुत हुने आवाजलाई सम्मानका साथ गाउंपालिकाले प्राथमिकता दिनेछ।”

यस कार्यक्रमबाट बालबालिकाको सशक्त सहभागिता र सुझाव संकलन गर्दै भविष्यका योजनाहरु थप प्रभावकारी र समावेशी हुने विश्वास व्यक्त गर्नुभयो।

बालमैत्री विज्ञ विकिरण गौतमले बालबालिकाको अधिकार सुनिश्चित गर्न योजना निर्माणको हरेक चरणमा उनीहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “बालबालिकाले आफैं भोगिरहेका समस्याहरू सबैभन्दा राम्रोसँग बुझ्ने उनीहरू स्वयं हुन्। त्यसैले उनीहरूको आवाज नीति निर्माणमा सुन्नु र समावेश गर्नु अत्यन्त महत्वपूर्ण छ।” उहाँले स्थानीय सरकार र सरोकारवालाहरुलाई बालमैत्री नीति र कार्यक्रम बनाउन सचेत रहनुपर्ने सुझावसमेत दिनुभयो।

बेलामा बोल्दै पालिका स्तरीय बाल सञ्जालका अध्यक्ष सन्दिप डाँगीले बालबालिकाको विचार र आवश्यकता योजना तर्जुमा प्रक्रियामा समावेश हुनु पर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामी बालबालिकाको हकहितको लागि यो भेलामा सहभागी भएका छौं। हाम्रा आवाजलाई स्थानीय सरकारले सुनेर योजनामा समावेश गरिदियो भने मात्रै हामीले चाहेको परिवर्तन सम्भव हुन्छ।” पालिकास्तरमा बालमैत्री योजना बनाउँदा बाल सञ्जाललाई अझ प्रभावकारी भूमिका दिइनुपर्ने विचार राख्नु भयो।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको कार्यक्रममा पालिकाका आठवटै वडामा गठित बाल सञ्जालका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID