
गढवा, ४ जेठ । दाङ जिल्लाको देउखुरी क्षेत्रमा अवस्थित गढवा गाउँपालिकाले पूर्णखोप सुनिश्चित गाउँपालिका बन्ने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। आईतबार एक विशेष समारोहबीच आयोजित कार्यक्रममा गढवा गाउँपालिकालाई औपचारिक रूपमा “पूर्णखोप सुनिश्चित गाउँपालिका” घोषणा गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले घोषणा पत्र सार्वजनिक गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षामा यो उपलब्धि ऐतिहासिक भएको बताउनुभयो। उहाँले नेपाल सरकारले तय गरेको राष्ट्रिय लक्ष्यअनुसार सबै स्थानीय तहहरूलाई पूर्णखोप सुनिश्चित गराउने कार्यलाई अभियानका रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खोप अभियान सफल बनाउन सबै पक्षको योगदान उल्लेखनीय रहेको बताउनुभयो। “स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधिहरूको समन्वय र कठोर परिश्रमले यो सम्भव भएको हो,” अध्यक्ष पोख्रेलले भन्नुभयो। उहाँले खोप कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको सबैभन्दा सफल र प्रभावकारी कार्यक्रमको रूपमा चिनाउँदै आगामी वर्षहरूमा पनि यसलाई सूक्ष्म रणनीतिका साथ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
गढवा गाउँपालिकामा हाल जन्मेदेखि १५ महिनासम्मका ६७३ बालबालिका तथा १६ महिनादेखि ५९ महिनासम्मका १,८२२ बालबालिका रहेका छन्। तीमध्ये जम्मा ४ जना बालबालिका मात्र खोप अभियानबाट छुटेका थिए, जसको कारण उनीहरू रोजगारको सिलसिलामा अभिभावकसँगै पालिका बाहिर गएका थिए। अन्य सबै बालबालिकालाई खोप कार्यक्रमअन्तर्गत पूर्ण रूपमा खोप लगाइएको जानकारी दिइएको छ।
स्वास्थ्य कार्यालय दाङका खोप अधिकृत किशोर आचार्यले खोप अभियान सञ्चालनका क्रममा अपनाइएका विभिन्न चरणबारे जानकारी गराउनुभयो। उहाँका अनुसार, पहिलो चरणमा तथ्याङ्क संकलन, दोस्रोमा सचेतनामूलक कार्यक्रम, तेस्रोमा घरदैलो कार्यक्रम र अन्तिम चरणमा छुटेका बालबालिकालाई लक्षित पुनःखोप अभियान सञ्चालन गरिएको थियो।
गढवा गाउँपालिकाको यो उपलब्धिले अन्य पालिकाहरूलाई पनि प्रेरणा दिने विश्वास लिइएको छ। पूर्णखोप सुनिश्चित अभियान बालबालिकाको स्वास्थ्य, भविष्य र समाजको समृद्धिसँग गाँसिएको महत्वपूर्ण कार्यक्रम भएकाले यसको निरन्तरता र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको सरोकारवाला पक्षहरूले बताएका छन्।
नेपाल सरकारको स्वास्थ्य नीति अनुसार, प्रत्येक बालबालिकाले उमेर अनुसारको सबै खोप समयमा प्राप्त गर्न पाउनु पर्नेछ। यस उद्देश्यलाई सफल पार्न गढवा गाउँपालिकाले प्रस्तुत गरेको उदाहरणलाई दाङ जिल्लाका अन्य स्थानीय तहहरूले पनि अनुसरण गर्ने अपेक्षा गरिएको छ।
गढवा गाउँपालिकाको पूर्णखोप सुनिश्चित घोषणाले स्थानीय तहको स्वास्थ्य क्षेत्रमा प्रतिबद्धता, समन्वय र समर्पणको स्पष्ट परिचय दिएको छ। यो सफलताको जगमा आधारित रहेर भविष्यमा पनि आम जनस्वास्थ्य सुधारका अभियानहरू अझ प्रभावकारी रूपमा अघि बढ्न सक्ने विश्वास गरिएको छ।
