गढवामा गाउँपालिकामा योङ कम्युनिस्ट लिग (YCL)नेपाल गठन

आलोक भावुक

गढवा, २२ वैशाख । दाङको देउखुरीस्थित गढवा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको गाउँपालिका स्तरीय समिति गठन गरिएको छ। वाइसीएल गढवा गाउँपालिका स्तरीय सम्मेलनले छुकी बोटेलाई अध्यक्ष चयन गर्दै ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

सम्मेलनपछि बसेको प्रथम बैठकमा संगठन सुदृढीकरण, युवाहरूको सक्रियता र सामाजिक परिवर्तनका विषयमा व्यापक छलफल गरिएको थियो। उक्त बैठक तेजबहादुर पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने वाइसीएल नेपालका केन्द्रीय उपमहासचिव पुष्प ओली प्रमुख अतिथि रहनु भएको थियो।

“अबको समय युवा सशक्तिकरण र राष्ट्र निर्माणको हो,” प्रमुख अतिथि ओलीले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, “वाइसीएल कुनै द्वन्द्वकारी संगठन होइन, यो सामाजिक रूपान्तरण र राष्ट्र निर्माणका लागि युवालाई संलग्न गराउने अभियान हो।” उहाँले संगठनलाई अनुशासनमा रहन, सकारात्मक रचनात्मक कार्यमा जोड दिन र जनतामाझ सशक्त रूपमा उभिन निर्देशन दिनुभयो।

कार्यक्रममा वोल्दै वाइसीएलका नेताहरूले गाउँपालिका स्तरमै संगठन विस्तार गर्नुको उद्देश्य युवाहरूलाई संगठित गर्दै विकास, शिक्षादेखि बेरोजगारीका सवालमा पनि सक्रिय हस्तक्षेप गर्न सक्ने क्षमता विकास गर्नु रहेको बताएका थिए।

नेकपा (माओवादी केन्द्र) गढवा गाउँपालिका अध्यक्ष तिलक घिमिरेले सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद दिँदै भन्नु भयै, “हामी पार्टीका भातृ संगठनहरूलाई स्थानीय तहमा सबल र जिम्मेवार बनाउँदै लान चाहन्छौँ। वाइसीएलको नयाँ नेतृत्वले गाउँपालिकामा युवामैत्री अभियान सञ्चालन गर्ने अपेक्षा गरिएको छ।”
वाइसीएल गढवा गाउँपालिकाको कार्यसमितिमा विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी समावेशी ढंगले सदस्यहरू चयन गरिएको आयोजकले जनाएका छन्। कार्यक्रम सञ्चालन रामलाल रानाले गर्नुभएको थियो ।

मा प्रकाशित