गढवामा रोजगार कार्यक्रम अन्तर्गत श्रमिकहरूका लागि अभिमुखीकरण कार्यक्रम

आलोक भावुक

गढवा,१३ वैशाख। दाङ देउखुरीको गढवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा खटिने श्रमिकहरुका लागि श्रममा खटिनु पूर्व श्रमिकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा गढवा गाउँपालिका वडा नं ४, ५ र ६ मा खटिएका ३९ जना श्रमिकहरूको सहभागिता रहेको थियो।

आर्थिक वर्ष २०८१ र ८२ मा गढवा गाउँपालिकामा कुल ३९ जना श्रमिकहरू १०० दिन बराबरको कार्य थालिने गरेका हुन्, हालसम्म ९० प्रतिशत कार्य सम्पन्न भएको गढवा गाउँपालिका रोजगार शाखा सहायक सत्यपाल यादवले जानकारी दिनुभयो।

पालिका हाम्रो प्राण- पालिका हाम्रो सान,पालिकामै छ जिन्दगी- विकासमा छ ध्यान भन्ने मूल नाराका साथ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकामा ३९ जना श्रमिकहरु श्रममा लागेका छन्।

अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय, उद्देश्य र प्रकृति कामको जिम्मेवारी र कार्यसम्पादन गर्ने प्रक्रिया योजना सम्झौता संचालन तथा भुक्तानी प्रक्रिया हाजिरी पारिश्रमिक तथा अन्य सेवा सुविधा ,बीमा लगायतका बारेमा जानकारी गराइएको थियो।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि रोजगार सेवा र सहायता प्रदान गर्ने, दक्ष र सक्षम जनशक्ति विकास गरी आन्तरिक रोजगारीको प्रवर्धन र विस्तार गर्ने, सरकारी निजी सहकारी तथा गैरसरकारी क्षेत्रहरु बीचको सम्बन्ध र सहकार्य गरी थप रोजगारीको अवसर सिर्जना गर्ने ,आन्तरिक रोजगारी सिर्जना सम्बन्धी अध्ययन अनुसन्धान गरी रोजगारीका नयाँ क्षेत्र पहिचान गर्ने,सार्वजनिक पूर्वाधारको निर्माण, स्तर उन्नति र विस्तारमा योगदान गर्ने, रोजगारी सिर्जनाका लागि नीतिगत र संरचनात्मक व्यवस्था गर्ने लगायतका उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी निवारण गर्दै स्थानीय विकासलाई प्रवर्धन गर्ने गरेको उपाध्यक्ष चौधरीले बताउनुभयो। सबै बेरोजगारहरूलाई राज्यले सकेसम्म धेरै रोजगारको व्यवस्था गर्नुपर्ने बताउँदै उपाध्यक्ष चौधरीले रोजगारदाताले दिएको काममा सबैले ध्यान दिएर काम गर्न पनि सहभागीहरुलाई आग्रह समेत गर्नुभयो।

कार्यक्रमको सञ्चालक गढवा गाउँपालिका रोजगार शाखाका रोजगार सहायक सत्यपाल यादवले गर्नुभएको थियो।

मा प्रकाशित