
भारतीय सिनेमामा भारत कुमार भनेर चिनिने अभिनेता मनोज कुमारले अन्ततः याे दुनियालाई अलविदा गरि महाप्रस्थान गरे। सर्वप्रथम ‘उपकार’ (१९६७) मा ‘भारत कुमार’ नामक चरित्र निर्वाह गरेका मनोज कुमारले त्यसपछि आफ्ना सिनेमाहरु ‘पूरब और पश्चिम’ (१९७०), ‘रोटी, कपड़ा और मकान (१९७४) र ‘क्रांति’ (१९८१) मा पनि आफ्नो चरित्रको नाम ‘भारत कुमार’ राखे। आफ्नो देशभक्तिकाे विचार, भावना र सिनेमाहरुसँग भारतीय जनतालाई भावनात्मक रुपमा जाेड्न उनले आफ्नो सिनेमाई नाम ‘भारत कुमार’ राेजेका थिए। जुन उनकाे brand identity बन्याे र कालान्तरमा अमर बन्न पुग्याे।
स्वतन्त्रपूर्व ऐबटाबादमा जन्मिएका मनोज कुमारलाई मातृभूमिसँग प्रेम थियाे जुन प्रेम उनीद्वारा बनाइएका सिनेमाहरुमा गहिराेसँग झल्किन्थ्याे। बतौर लेखक-निर्देशक उनकाे पहिलाे सिनेमा ‘उपकार’ (१९६७) थियाे तर उनकाे देशभक्त चरित्रकाे आधारशिला सन् १९६५ मा प्रदर्शित ‘शहीद’ र ‘हिमालय कि गाेद में’ ले राखिसकेकाे थियाे। त्यसपछि उनी ‘उपकार’ मा देशभक्त किसान तथा जवान भारत कुमार बनेर देखा परे। उनकाे चरित्रकाे याे ‘शेप’ अप्रत्याशित थिएन। कालान्तरमा उनी लेखक, निर्माता, निर्दैशक, सम्पादक, गीतकार… सबै सबै बने। अभिनेता त उनी पहिलेदेखि नै थिए।
बतौर अभिनेता उनले करिब ५५ वटा सिनेमामा काम गरे। अर्थात् उनले धेरै सिनेमा गरेनन्। चाहेकाे भए उनी शतक पुर्याउन सक्थे तर उनले केवल पैसाकाे लागि सिनेमामा काम गरेनन्। सिनेमामा काम गर्नकाे लागि पैसा वा कमाई मात्र उनकाे माेटिवेशन थिएन। पैसा वा कमाईसँगै उनी कलात्मक सन्तुष्टि पनि चाहन्थे। अरुकाे मात्र सिनेमा खेल्दै बस्ने हाे भने त्याे सन्तुष्टि आफुले नपाउने बाेध गरेपछि उनी आफै सिनेमा लेखन, निर्माण र निर्दैशनमा उत्रिए। उनी आफ्नाे लागि आफै सिनेमाहरु लेख्न थाले, आफुले निर्वाह गर्न चाहेका चरित्रहरु आफैले लेखे, आफ्नो इच्छाअनुसार चरित्रहरुलाई आकार दिए, चरित्रहरुलाई एसेन्स रे। आफुले भन्न खाेजेका कथाहरु भने। आफुले बनाउन खाेजेका सिनेमाहरु बनाए।
पैसा र कलात्मक सन्तुष्टिसँगै उनी आफ्ना सिनेमाहरुमा सामाजिक जिम्मेवारी पनि खाेज्न थाले वा आफ्ना सिनेमाहरुबाट सामाजिक जिम्मेवारी पनि वहन गर्न थाले। ‘शहीद’ (१९६५) पश्चात् उनमा याे प्रतिबद्धता आएकाे महसुस हुन्छ। ‘शहीद’ (1१९६५), ‘हिमालय कि गाेद में’ (१९६५), ‘उपकार’ (१९६७), ‘यादगार’ (१९७०) जस्ता फिल्महरुबाट उनले सामाजिक जिम्मेवारी पनि वहन गर्ने प्रयत्न गरेकाे देखिन्छ। के तपाईंलाई थाहा छ, मनाेज कुमारले सन् १९७० मै ‘यादगार’ मा ‘अरविन्द केजरीवाल’ काे चरित्र निभाएका थिए।
यस्ताे हाेइन कि उनले ‘शहीद’ वा ‘उपकार’ पछि केवल देशभक्तिका सिनेमाहरुमा मात्र काम गरे। उनले पलायनवादी मनाेरन्जन र स्वैरकल्पना पस्किने सिनेमाहरुमा पनि काम गर्न छाडेनन्। अझ सँख्यामा त उनका पलायनवादी सिनेमाहरु नै अधिक छन्,उनका देशभक्तिका सिनेमाहरुभन्दा। उनका पलायनवादी सिनेमाहरुभन्दा देशभक्तिका सिनेमाहरु थाेरै छन् तर आमजनतालाई उनकाे देशभक्तिका सिनेमाहरु याद रहे उनका पलायनवादी सिनेमाहरुभन्दा। उनका पलायनवादी सिनेमाहरुलाई कसैले याद गरेन। इतिहासले उनकाे देशभक्तिका सिनेमाहरुलाई नै याद गर्याे।
मनाेज कुमारले जम्माजम्मी ५५ वटा सिनेमाहरुमा काम गरे। आफ्नो आदर्श दिलिप कुमारकाे मार्गमा हिँड्दै उनले कम सिनेमामा काम गरेता पनि उनले विविध विधाहरु (genres) लाई explore गरे। एक त त्यसबेला सिनेमामा विविधता असाध्यै कम हुन्थ्याे। किनभने एकै प्रकारका सिनेमाहरु बन्थे अनि काेही कलाकार कुनै एउटा भूमिकामा हिट भयाे वा उनकाे कुनै खास रुप जनतामाझ लाेकप्रिय भयाे भने उनलाई लगातार त्यस्तै रुप वा भूमिकामा प्रस्तुत गर्ने (typecast गर्ने) प्रचलन थियाे। त्यस्ताे समयमा पनि मनाेज कुमारले आफुलाई typecast हुन दिएनन्।
उनले मिस्ट्री-थ्रिलर सिनेमाहरु गरे जसमा उनले गजबकाे सफलता पाए। ‘वाे काैन थी’, ‘गुमनाम’, ‘अनिता’ ले उनकाे मिस्ट्री-थ्रिलर फिल्महरुकाे सफलताकाे कथा कहन्छ। उनी प्रेमीकाे रुपमा पनि मज्जाले जमे। उनले थुप्रै राेमान्टिक सिनेमामा अनेक नायिकाकाे प्रेमीकाे भूमिका निर्वाह गरे। उनी मीना कुमारीदेखि लिएर हेमा मालिनी र अनिता राजसम्मकाे प्रेमी बने जबकि मीना कुमारीदेखि लिएर अनिता राजसम्मै उनकाे उमेरमा डिफरेन्स थियाे। मीना कुमारीभन्दा उनी उमेरमा साना थिए भने हेमा मालिनी र अनिता राज उनीभन्दा उमेरमा धेरै साना थिइन्। आशा पारेख, साधना, माला सिन्हा, शर्मिला टैगाेर, मुमताज़, ज़ीनत अमान, जया भादुड़ी, शायरा बानु, वैजयन्तीमाला, सिमी गरेवाल, नंदा, वहीदा रहमान…यस्ता अनेक नायिकाकाे नाम लिन सकिन्छ जाे सँग उनकाे जाेडी पर्दामा सुहायाे।
उनले अनेक राम्रा पारिवारिक सिनेमामा काम गरे अनि सामाजिक सिनेमाहरुमा पनि। सामाजिक सिनेमाहरुमा उनले सामाजिक यथार्थवादी धारलाई राेजे र ‘शाेर’, ‘रोटी, कपड़ा और मकान’ र ‘क्लर्क’ जस्ता hardhitting सिनेमाहरु बनाए। तर साथै पलायनवादी सिनेमाकाे दामन पनि उनले छाेडेनन्। देशभक्तिका सिनेमाहरुमा उनकाे प्रदर्शन सदैव शानदार रह्याे। उनलाई ‘भारत कुमार’ काे रुपमा विशिष्ट पहिचान देशभक्तिकै सिनेमाहरुबाट मिल्याे। इतिहासमा उनी भारत कुमारकाे रुपमा अजर-अमर भए।
मनाेज कुमार दिलिप कुमारबाट प्रभावित थिए। दस बर्षकाे उमेरमा दिलिप कुमारकाे सिनेमा ‘जुगनू’ हेर्ने अवसर पाएका उनकाे मनमा त्यसपछि अभिनेता बन्ने इच्छा जन्मियाे र बिस्तारै याे इच्छा उनीभित्र हुर्किन्दै गए। अन्ततः एकदिन उनी हरिकृष्ण गिरी गाेस्वामीबाट ‘मनाेज कुमार’ बने। दिलिप कुमारकाे तर्जमा उनले ‘कुमार’ नाम धारण गरे।
हुन त हिन्दी सिनेमामा एक समय भनिन्थ्याे कि राजकुमारबाहेक जति पनि ‘कुमारहरु’ छन्, ती सबै दिलीप कुमारकाे नक्कल गर्छन् र याे भनाई गलत थिएन। मनोज कुमार पनि त्यही कुमारहरुका समुहमा पर्थे तर उनले बिस्तारै आफ्नो अलग पहिचान बनाए। उनकाे इंटेन्स एक्टिङ र डाइलग डेलिवेरीपछि गएर ‘युनिक’ बन्न पुग्याे। ‘युनिक’ अर्थात् त्याे जस्ताे अर्काे थिएन। सिंगलपिस, मास्टरपिस। ‘शाेर’ (१९७२) मा मनाेज कुमारकाे एक्टिङ, डेलिभेरी र प्रस्तुति मलाई सबैभन्दा युनिक महसुस भएकाे थियाे।
मनाेज कुमारलाई प्रारम्भमा दुईवटा आराेप लाग्याे। पहिलाे, दिलिप कुमारकाे poor copy गर्न खाेज्न नाैसिखिया। दाेस्राे, राज कपूरकाे poor copy गर्न खाेज्ने नाैसिखिया। यसरी उनीमाथि poor नाैसिखियाकाे लेबल टाँसियाे जसलाई उक्काएर ‘मनाेज कुमार’ टाँस्न उनलाई निकै समय र मेहनत लाग्याे। कडा मेहनत गरेर उनले ‘मनाेज कुमार’ नाम कमाए। नाम कमाउन धेरै मेहनत लाग्छ। मेहनत गर्दै गएपछि उनकाे आफ्नै नाम र पहिचान बन्दै गयाे। अब उनी दिलिप कुमार वा राज कपूरकाे poor caricature हाेइनन्, एक राम्राे अभिनेता मनाेज कुमार हुन् भनेर चिनिन थाले। अब मान्छेहरु मनाेज कुमारलाई हेर्न सिनेमाहलहरुमा जान थाले। याे उनकाे सफलताको पहिलो खुट्किला थियाे जहाँ कडा मेहनत गरेर उनले नाम कमाएका थिए। दिलिप कुमार र राज कपूरदेखि इतर आफ्नो छुट्टै पहिचान बनाएका थिए।
सिनेमा त उनी त्यसबेलाकाे दायराअनुसार सक्दाे विविधतापूर्ण नै खेलिरहेका थिए। पलायनवादी सिनेमाहरुसँगै सामाजिक र देशभक्तिका सिनेमाहरु। हलिउड स्टाइलका मिस्ट्री थ्रिलरहरुसँगै ग्रामीण भारतीय परिवेशका सिनेमाहरु। तर ती मध्ये उनका देशभक्तिका सिनेमा र चरित्रहरुले बढी हाइप पायाे। त्यसपछि उनी मनाेज कुमारबाट भारत कुमारकाे नामले प्रसिद्ध भए। देशभक्तिकाे सिनेमा र भारत कुमार उनकाे पहिचान बन्न पुग्यो, उनकाे ब्राण्ड बन्न पुग्या। देशभक्ति र उनी पर्यायवाची बन्न पुगे याे थियाे उनकाे आर्ट, उनकाे क्राफ्टकाे सफलता।
याे सफलता किन पनि गर्विलाे थियाे भने भारत कुमारकाे देशभक्त चरित्रकाे रचना र स्थापना मुख्यतः उनकाे आफ्नै लेखन, निर्माण र निर्दैशनमा भएकाे थियाे। एक शब्दमा उनकाे आफ्नै नेतृत्वमा भएकाे थियाे। अर्थात् भारत कुमारकाे चरित्र उनकाे लागि अरु कसैले गढिदिएकाे थिएन, उनी आफैले गढेका थिए। याे उनकाे आफ्नै साेच, मेहनत र लगनकाे नतिजा थियाे। भारत कुमारकाे रचना र सफलताको श्रेय उनलाई नै जान्छ।
देशभक्तिपछि सामाजिक यथार्थवादी सिनेमाहरुबाट मनाेज कुमारले इतिहासमा गहिराे छाप छाेडे। उनका सामाजिक यथार्थवादी सिनेमाहरुमा तत्कालीन सामाजिक अवस्था वा सामाजिक यथार्थकाे चित्रण हुन्थ्याे, जसमा देशका लागि प्रेमकाे भावनालाई आमव्यक्तिकाे कथामार्फत् अभिव्यक्त गरिन्थ्याे।
‘उपकार’ (१९६७) मा शिक्षा र जागिरमा उन्नतिकाे बीचमा भारतीय परिवारव्यवस्था र त्यसकाे गिर्दाे मूल्यहरुसँगै गरिबी र शोषणकाे चित्रणकाे माध्यमबाट देशभक्तिलाई देखाइयाे भने ‘रोटी, कपड़ा और मकान’ (१९७४) मा गरिबी, बेरोजगारी, महँगाई, असमानता, भ्रष्टाचार, अन्यायसँगै सामाजिक न्यायकाे मुद्दालाई उठाइयाे।
‘पूरब और पश्चिम’ (१९७०) मा भाैतिक उन्नति र आधुनिकताकाे नाममा पश्चिमी (युराेपेली) सँस्कृतिकाे बढ्दाे प्रचलनसँगै लाेप हुँदै गइरहेको भारतीय संस्कृतिकाे कथालाई आधार बनाइयाे भने ‘क्रांति’ मा अंग्रेजहरुका विरुद्ध लडाइँलाई कथाकाे आधार बनाएर देशवासीहरुमा देशप्रेमकाे भावनालाई जागृत गर्ने काेशिश गरियाे।
यहाँनेर विचारणीय कुरा के छ भने स्वतन्त्र सेनानीहरुकाे यस कथामा एउटा चरित्र करीम खान नामक स्वतन्त्रता सेनानी वा लडाकुकाे पनि थियाे जसलाई शत्रुघ्न सिन्हाले निर्वाह गरेका थिए। उनकाे अर्काे फिल्म ‘शाेर’ मा एकजना मुसलमान पठान (खान बादशाह) छन् जाे उनकाे हिन्दु मित्र दु:ख, आपत र आर्थिक संकटमा परेकाे बेला उनलाई आफ्नो खाेलीहरु बेचेर सहयोग गर्छन्। उनकाे फिल्म ‘राेटी, कपड़ा और मकान’ मा पनि यस्तै एउटा चरित्र छ, हरनाम सिहँ। यसपटक याे चरित्र शिख छ।
मनाेज कुमार सेक्युलर थिए। देश विभाजनकाे पीडा-त्रासदी र हिन्दु-मुसलमान दंगा-हिंसालाई सानैमा महसुस गरेकाे मनाेज कुमारकाे मनभित्र सेक्युलर मूलयमान्यताले सानैदेखि बलियाेसँग जरा गाडेकाे भयाे। देश विभाजनपछिकाे हिंसामा उनकाे परिवारकाे ६० जना सदस्यहरुले ज्यान गुमाएका थिए अनि सानैदेखि उनका पिताले उनलाई ‘समधर्म-समभाव’ सिकाएका थिए अर्थात् सबैकाे धर्मप्रति समान आदरभाव राख्नु, सबै धर्मलाई सम्मान गर्नु र सबै धर्मावलम्बीलाई आफ्नाे इष्टमित्र ठान्नु नै समधर्म-समभावकाे मूल तत्व थियाे जसलाई मनाेज कुमारले आजीवन अवलम्बन गरे। उनकाे यही आदर्शले उनलाई आफ्ना सिनेमाहरुमा बादशाह खान, हरनाम सिहँ र करिम खान जस्ता चरित्रहरु रचना गर्न अभिप्रेरित गर्याे।
मनोज कुमारका देशभक्तिका सिनेमाहरुमा
एक सामाजिक प्रतिबद्धता थियाे, समधर्म समभाव, मानवता/मानवीय मूल्यहरुकाे सुन्दरता थियाे, न्याय र समाजप्रति जिम्मेवारीकाे भावना थियाे र भारतकाे माैलिक पहिचान, माैलिक सँस्कृति र सभ्यताकाे विचार थियाे। सबैभन्दा महत्त्वपूर्ण कुरा त्याे इंक्लुसिव थियाे…सबैलाई साथ लिएर हिँड्ने। हिन्दी सिनेमामा त्याे पनि एउटा भारत थियाे र त्यस भारतका लागि देशप्रेम थियाे।
आजकल पनि patriotic films र patriotism काे खूबै लहर चलिरहेको छ। तर आजकलका हिन्दी सिनेमाहरुमा भारतकाे स्थान ‘नयाँ भारत’ र देशभक्तिकाे स्थान ‘राष्ट्रवाद’ ले लिएकाे छ। सतहबाट हेर्दा दुवै एउटै जस्ताे देखिए यी दुई बिलकुलै अलग-अलग कुरा हुन्। देशभक्ति जहाँ अत्यावश्यक कुरा हाे। देशकाे लागि अक्सिजनसरह हाे भने राष्टवाद सबभन्दा खतरनाक कुरा हाे। याे त्याज्य कुरा हाे। यसबारे लेख्न बस्ने हाे भने लामै लेख तयार हुनेछ। अहिलेलाइ संक्षेपमा यति बुझ्नुहाेस्, मनोज कुमारका सिनेमाहरुमा ‘तिरंगा राष्ट्रवाद’ (इंक्लुसिभ राष्ट्रवाद) थियाे भने अहिलेका कथित राष्ट्रवादी फिल्ममेकरहरुका फिल्महरुमा ‘भगवा राष्ट्रवाद’ छ। तिरंगा राष्ट्रवाद अब भगवा राष्ट्रवादमा परिणत भएकाे छ। यति भनेपछि कुरा बुझ्नु भयाे नै हाेला। आ गर्दा अलंकार बुझ्नु।
मनोज कुमारका सिनेमाहरुका एक खास विशेषता संगीत हुन्थ्याे। उनका सिनेमाहरुका संगीत सदैव उत्कृष्ट हुने गर्थे। बहुतै युनिक कंपाेजिशनहरु हुने गर्थे। सन्ताेष आनन्द, गुलशन बावरा, इंदीवर र स्वयं मनाेज कुमारका सुन्दर शब्दहरुद्वारा सजिएका, कल्याणजी-आनन्दजी र लक्ष्मीकान्त-प्यारेलालकाे संगीतद्वारा संगीतबद्ध।
जस्तै- ‘पानी रे पानी तेरा रंग कैसा’ र ‘महँगाई मार गई’। यी गीतहरु म मनाेज कुमारबाहेक अरु कसैकाे फिल्ममा कल्पना गर्न सक्दिन। यिनकाे काेरियाेग्राफी पनि कस्ताे अर्ग्यानिक छ। त्यहीकाे हावापानी र माटाेमा भिजेकाे, त्यहीकाे परिवेशमा भिजेकाे। त्यहीकाे स्थानीय पात्रहरुलाई देखाइएकाे।
उनका सिनेमाहरुमा ‘हाय, हाय ये मज़बूरी’, ‘चाँद सी महबूबा’, ‘ताैबा ये मतवाली चाल’, ‘मेरे जैसे हाेंगे लाखाें काेई भी तुझ सा नहीं’ जस्ता अति राेमान्टिक गीतहरु पनि पाइन्छन् भने ‘पत्थर के सनम’, ‘दीवानाे से मत पूछाे’, ‘मैं ना भूलुंगा’, ‘कसमे वादे सब बाते है’, ‘कोई जब तुम्हारा हृदय तोड़ दे’, ‘तुम बिन जीवन कैसे बीता पूछाे मेरे दिल से’ जस्ता प्रेम वियाेगका गीतहरु पनि।
ए वतन, ए वतन’ (शहीद) ‘मेरे देश की धरती सोना उगले’, ‘जहाँ डाल-डाल पर सोने की चिड़िया’ (उपकार) ‘भारत की बात बताता हूँ’ (पूरब और पश्चिम), ‘अब के बरस तुझे धरती कि रानी कर देंगे’ (क्रांति) जस्ता प्रखर देशभक्तिका गीतहरु पनि पाइन्छन् अनि ‘इक प्यार का नगमा है’ (शाेर), ‘ज़िंदगी की ना टूटे लड़ी’ (क्रांति) जस्ता जीवन-जीजिबिषाका गीतहरु पनि।
सबै खाले परिस्थितिसँग मेल खाने गीतहरु उनका सिनेमाहरुमा पाइन्छन्। त्यसैले त जब पर्दामा उनका गीतहरु आउँथे, सिनेमाहल तालीकाे आवाजल गुन्जयमान हुन्थ्याे। कहिले महेन्द्र कपूरकाे कडा, बुलन्द आवाजमा उनकाे देशप्रेम गुन्जिन्थे त कहिले मुकेशकाे आवाजमा उनका उदासीहरु छताछुल्ल हुन्थे। उनका सिनेमाका गीतहरु हिन्दी सिने संगीतका यस्ता अनमाेल रत्नहरु हुन् जसलाई आज पनि खाेजीखाेजी सुनिन्छ।
शहीद भगत सिहँकाे जीवनीमाथि बनेकाे ढंगकाे पहिलाे सिनेमा ‘शहीद’ (१९६५) नै थियाे जसमा मनाेज कुमार भगत सिहँ बनेका थिए। शहीद भगत सिहँमात्र हाेइन, भारतमा कुनै पनि शहीदमाथि बनेकाे ढंगकाे पहिलो सिनेमा १९६५ काे मनाेज कुमार अभिनित ‘शहीद’ नै थियाे। याे सिनेमाकाे प्रिमियरमा स्वयं भगत सिहँकी माताजी उपस्थित हुनुभएको थियाे र सिनेमा हेरेर उहाँ निकै भावुक हुनुभएकाे थियाे। याे सिनेमा हेरेर दर्शकहरु पनि भावुक भएका थिए।
यही सिनेमाबाट हिन्दी सिनेमामा देशभक्तिकाे सिनेमाकाे ट्रेन्ड सुरु भयाेे जसले मनाेज कुमारका फिल्महरुबाट नै आकार लियाे। देशभक्ति सिनेमाकाे छुट्टै विधा (genre) काे उदय भयाे जसकाे नेतृत्व मनाेज कुमारले गरे। अर्थात्, मनाेज कुमार देशभक्ति धारका सिनेमाहरुका स्टार बने। मनोज कुमारलाई हिन्दी सिनेमाकाे इतिहासमा अमर बनाउने ‘भारत कुमार’ के अवतार के लागि ‘शहीद’ टर्निंग प्वाइंट बन्न पुग्याे। मनाेजकाे देशभक्तकाे चरित्रले यही सिनेमाबाट आकार लिएकाे थियाे।
मनोज कुमारका सिनेमाहरुले मूलधार वा व्यावसायिक सिनेमाकाे दायराभित्र रहेर पनि सामाजिक वा जनताका मुद्दाहरुलाई मनोरन्जनसँगै उजागर गरे र सामाजिक सन्देशहरु प्रेषित गरे। बलिउडमा आमिर खानभन्दा पहिले मनाेज कुमार सामाजिक सराेकारमाथि सिनेमाहरु बनाउथे र सामाजिक उत्तरदायित्व वहन गर्थे भन्ने कुरा आजकलका पुस्ताले जान्न जरुरी छ। मनाेज कुमारलाई उनका देशभक्ति+सामाजिक यथार्थवादी सिनेमाहरुका लागि सदैव याद गरिनेछ। मनोज कुमारले बनाएका अधिकाँश सिनेमाहरु अपने समय र समाजका सिनेमाई दस्तावेज हुन्। उनका सिनेमाहरु भारतीय समाजका धरोहरहरु हुन् जो अब इतिहासमा दर्ज भइसकेका छन्।
मनाेज कमारलाई हार्दिक श्रद्धाञ्जली।
