
गढवा,२३ चैत्र। घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तरपालिका स्तरीय घोराही गोल्डकप फुटबल प्रतियोगिता -२०८१ मा सहभागी हुन गढवा गाउँपालिकाबाट २५ जनाको टिम घोराहीका लागि प्रस्थान गरेको छ।
खेलाडीहरूलाई गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले टीका लगाई जितको शुभकामना सहित गाउँपालिकाबाट विदाई गर्नुभएको हो।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित नवलपुर खेलमैदानमा अन्तरपालिका स्तरीय दोस्रो संस्करण घोराही गोल्डकप फुटबल प्रतियोगिता -२०८१ सञ्चालन हुन थालेको हो।
घोराही गोल्डकप फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार नगद गोल्डकप प्रमाणपत्र र मेडल दिइनेछ भने दोस्रो पुरस्कार ८० हजार नगद क प्रमाणपत्र र मेडल प्रदान गरिनेछ।
साथै सर्वोत्कृष्ट खेलाडी र विभिन्न विधामा प्रमाणपत्र ट्रफी हरेक म्याचमा म्यान अफ द म्याच उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट व्यवस्थापकलाई सम्मान अनुशासित पालिकाको टिमलाई फेयर प्लेट टिमले पुरस्कृत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।
दोस्रो संस्करण घोराही गोल्डकप प्रतियोगिता २०८१ मा चैत्र २३ गते २ बजे लमही नगरपालिका र तुल्सीपुर उप-महानगरपालिकाको खेल हुनेछ भने चैत्र २४ गते बिहान ८ बजेदेखि गढवा गाउँपालिका र दङ्गीशरण गाउँपालिका बीच खेल हुनेछ। त्यसैगरी चैत्र २४ गते ३ बजे दिउँसो शान्तिनगर गाउँपालिका र राप्ती गाउँपालिका बीचको खेल हुनेछ भने चैत्र २५ गते ३ बजेदेखि घोराही उपमहानगरपालिका र राजपुर गाउँपालिका बिच खेल हुनेछ। त्यसैगरी चैत्र २६ गते बिहान ८ बजेता बीच फाइनल हुनेछ भने चैत्र २६ गते दिउँसो ३ बजे खेल नं २ को विजेता र खेल नं ४ को विजेता बीच प्रतिस्पर्धा हुनेछ भने चैत्र २७ गते २:३० बजेदेखि फाइनल खेल हुने कार्यक्रम तय गरिएको छ।
गढवा गाउँपालिकाबाट शिक्षा शाखाका रविलाल माझीको व्यवस्थापनमा २१ जना खेलाडी र अन्य चारजना गरी २५ जनाको टोली घोराहीको लागि प्रस्थान गरेको छ। टोलीलाई गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले टिका र शुभकामना सहित खेलाडीहरूलाई अनुशासन पालना गरी पालिकाको गौरव हुने हिसाबले खेल खेल्न सुझाव समेत दिनुभएको थियो।
